
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा हुने कालो बजारी नियन्त्रणका लागि सबै नागरिक अनुगमनकर्ता बन्नुपर्ने बताउनुभएको छ ।
नोवेल कोरोना भाइरसका कारण बजारमा अत्यावश्यक वस्तुहरुको अभाव सिर्जना हुने हल्ला चलाएर कालोबजारी गर्नेहरुको जानकारी सरकारलाई गराई अनुगमनकर्ता बन्न आम सर्वसाधारणलाई मन्त्री भट्टले आग्रह गर्नुभयो । शनिबार काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा मन्त्री भट्टले खाना पकाउने, ग्यास, पोट्रोलियम पदार्थ, नुन, चिनी लगायतका अत्यावश्यक वस्तुहरु बजारमा प्रयाप्त रहेको र कसैले लुकाएर कालो बजारी गरेको पाइए मन्त्रालयमा फोन गर्न आग्रह पनि गर्नुभयो ।
सरकारले अहिले कालोबजारी भएको जानकारी र कारबाहिका लागि ०१–४२६९४८३ नम्बर खुल्ला गरेको छ । नागरिकहरु महंगो मुल्य तिर्न पर्ने अवस्था तथा ठगिएको थाहा पाए यो नम्बरमा फोन गरेर जानकारी तत्काल कारबाहि हुने व्यवस्था गरिएको छ । मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बजारमा कुनैपनि वस्तुको अभाव नरहेको बताउनुभयो । अत्यावश्यक सामग्रीहरु बजारमा प्रसस्त रहेको भन्दै कालोबजारीलाई सघाउ पुग्नेगरी हल्ला नगर्न आग्रह गर्नुभयो ।
उपभोक्ताकर्मी प्रेमलाल महर्जनले सरकारले कालोबजारी भइरहेका बेला बजार अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताउनुभयो । उहाँले प्राकृतिक विपदको बेला कालोबजारी गर्नेमाथि अनुगमन बढाई उचित कारबाही गर्नुपर्ने बताउनुभयो ।
नोभल कोरोना भाइरसका कारण बजारमा मास्क, पञ्जा लगायतका वस्तुहरुको अभाव भएको छ । त्यस्तै भारतले औषधि निर्यात नगर्ने बताएसँगै अत्यावश्यक औषधिको समेत अभाव हुने हल्ला चलेको छ । त्यसबाहेक खाना पकाउने ग्यासको समेत अभाव देखिन थालेको छ ।
त्यस्तै खाध्य सामग्रीको समेत अभाव हुने भन्दै कालोबजारी गर्नेहरु सक्रिय भएकोले बजारमा कालोबजारी बढेको उपभोक्ताकर्मीहरुको भनाई छ ।
जसको नियन्त्रणका लागि सरकारले आम सर्वसाधारणलाई अनुगमनकर्ता बन्न आग्रह गरेको हो । अहिले ११ अनुगमन समितिले बजारमा अनुगमन गरिरहेका छन् ।
प्रकाशित मिति: २४ फाल्गुन २०७६, शनिबार २१:२८