
सल्यान– लागु औषध नाईट्राजेपाम र गाँजा सहित सल्यानमा दुई युवती पक्राउ परेका छन् । नेपालगञ्जबाट रुकुम तर्फ गईरहेको फोर्स गाडीबाट लागुऔषध सहित उनीहरुलाई सल्यान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ बस्ने २० बर्षिया रुपा वली र सानोभरी गाउपालिका वडा नम्बर ३ बस्ने २२ बर्षिया ओकमाया पुन रहेको बुधबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी निमित्त कार्यालय प्रमुख, प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारी गराए । रुपा वलीको शरिरबाट नाईट्राजेपामको ३० वटा ट्याब्लेट र ओकमाया पुनको शरिरबाट नाईट्राजेपामको ६० वटा ट्याब्लेट, ३ ग्राम गाँजा र लागूऔषध सेवन गर्न बनाईएको प्लाष्टिकको डिब्बा एक थान वरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले सञ्चालन गरेको यात्रुहरुसँग २ मिनेट कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको अभियानको क्रममा मंगलबार नेपालगञ्जबाट रुकुम जाँदै गरेको भे १ ख ३११४ नम्बरको गाडी सल्यानको त्रिबेणी गाउपालिका ६ स्थित राप्ती लोकमार्गमा चेकजाँच गर्ने बेला उनीहरुलाई पक्राउ गरिएको हो ।
चेकजाँचको क्रममा लागूऔषध सेवन गरेको शंका लागेपछि उनीहरु बसेको स्थान र उनीहरुको शरिरमा रितवूर्पक खानतलासी गर्दा उनीहरुबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई लागूऔषध ऐन २०३३ वमोजिम जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार २०:३४