
काठमाडौं– सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभर लक डाउन गर्ने निर्णय गरेको छ ।
सोमबार उपत्यकामा एक जना युवतिलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएपछि सरकारले देशलाई पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको हो ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबारको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।
चैत ११ गते मंगलबार विहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजे सम्म लकडाउन लागुहुने विभिन्न आठ बुँदामा आदेश जारी गरेको छ । त्यस्तै बैठकले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगश भट्टराइको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड २०७६ स्वीकृत गरेको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा सोमबार (आजै) देखि लागु गर्नेगरी वलम्बु स्थित सशस्त्र प्रहरी बल, नेपलको अस्पतालबाट कोरोनाको रोकथाम, नियन्त्रण र उपचार समबन्धप् कार्य नेपाली सेनाका चिकित्सकहरुको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई खटाउने भएको छ । त्यस्तै आवश्यकता अनुसार सरकारी सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु समेत परिचालन गर्ने भएको छ ।
लक डाउन भएको अवस्थामा औषधी उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् । त्यस्तै अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ । त्यस्तै आन्तरिक उडानहरु समेत बन्द हुने छन् ।
स्वास्थ्य, सुरक्ष, खाद्यवस्तु, खानेपनी, दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यलय सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिन सक्ने छन् ।
औषधी तथा स्वास्थ्य उपकरण, खाद्य वस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योग बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीलाई विदा दिने भएको छ । त्यस्तै व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्ति गर्ने व्यवस्था मिलाउने छ भने कालाबजारी गर्नेहरुलाई कानून बमोजिम कारबाही गर्ने भएको छ ।
सरकारले जारी गरेको आदेशको कार्यान्वयन गर्नको लाग आवश्यक व्यवस्था मिलाउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरेको छ । त्यस्तै आदेशको अपहेलना गर्ने वा काममा बाधा पु¥याउनेमाथि कारबाही हुनेछ ।
के हो लक डाउन ? कसरी हुन्छ कार्यान्वयन ?
चीनको वुहानमा कोरोनाको महामारी फैलिएको बेला त्यहाँका जनता प्रहरीको कठोर निगरानी र सुरक्षामा थिए। उनीहरुले अनुमतिबिना आवतजावत गर्न पाएका थिएनन् भने विद्यालय, बजार, बैंक, रेष्टुरेन्ट सबै बन्द भएका थिए।
यी सब वुहानमा देखिएको कोरोनाको महामारी अन्य प्रान्तमा नफैलियोस् भन्नका लागि चीन सरकारले लिएको नीति थियो।
सामान्य भाषामा भन्दा सरकारको कठोर निगरानी र सुरक्षा नै लकडाउन हो। जुन कुनै पनि महामारी एक स्थानबाट अर्को स्थानमा नफैलियोस भन्नका लागि गरिन्छ।
जानकारहरुका अनुसार लकडाउन भनेको कुनै निश्चित क्षेत्रलाई सरकारले बन्द गर्नु हो। उक्त क्षेत्रलाई प्रहरीले चारै तिरबाट घेरा हाल्छ।
मानिसको भीडभाडलाई कम गर्नु नै लकडाउनको मुख्य उद्देश्य हो। लकडाउनलाई हेल्थ कस्टडी समेत भन्ने गरिन्छ । ‘लकडाउन’ को मुख्य उद्देश्य भनेकै मानिसको भीड कम गर्नु हो । त्यही नीतिअनुसार नेपालमा पनि सरकारले यसअघि नै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ ।
यो एक प्रकारको कर्फ्यु जस्तै हो। कर्फ्यु निश्चित समयका लागि हुन्छ भने लकडाउनको समय रोग अनुसार हुन्छ ।
लकडाउन गरिएको क्षेत्रमा विद्यालय, होटल तथा रेष्टुरेण्ट, बैंक लगायत मानिसको भीडभाड हुने सबै ठाउँ बन्द हुन्छ। मानिसहरु घरबाट आवत जावत गर्न पाउँदैनन्। यदि अत्यावश्यक काममा निस्कीनु परे सरकारसंग अनुमति लिनु पर्ने हुन्छ ।
प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार २१:४७