कर्णाली प्रदेश सरकारद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

रमेश कुमार वली
सल्यान,१६ चैत  कर्णाली प्रदेश सरकारले सल्यान अस्पताललाई अत्यावश्यक औषधी तथा उपकरण उपलव्ध गराएको छ । कोरोना भाइरसको संक्रमित बिरामीहरुको उपचारका लागि आवश्यक पर्ने औषधी तथा उपकरणहरु आइतबार उपलव्ध प्रदेश सरकारले उपलव्ध गराएको हो ।
प्रदेश सरकारको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट अस्पतालाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) ५ थान, गाउन २० थान, माक्स ३ हजार ५ सय थान लगायतका सामाग्रीहरु सल्यान अस्पताललाई हस्तान्तरण गरिएको हो । जिल्ला अस्पतालमा व्यक्तिगत सुरक्षा उपकरण नहुदा कोरोनाको शंकास्पदहरुलाई समेत उपचार गर्न सक्ने अवस्था नभएकोले सामाग्री हस्तान्तरण पछि सहज भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।
अस्पतालमा कोरोना भाइरससंग लड्का लागि अन्य तयारी गरिसकेको सल्यान अस्पताल सल्यानका प्रमुख डाक्टर अर्जुन कुमार बुढाले जानकारी दिनुभयो ।“ सल्यान अस्पतालमा अहिले १५ शैयाको क्वारेन्टाइन तथा ६ शैयाको आइसोलेसन कक्ष तयार गरेका छौ, अव हामी कोरोनासंग लड्न तयार छौं,” अस्पताल प्रमुख बुढाले भन्नुभयो ।
सल्यानमा अहिले सम्म कसैमा पनि कोरोना संक्रमित नदेखिएको भएपनि सजगता अपनाउनका लागि जिल्लाका सवै स्वास्थ्य संस्थाहरुमा पुर्वतयारी गरिएको बुढाको भनाई छ । जिल्लामा अहिले जिल्ला बाहिरबाट सल्यान जिल्लामा प्रवेश गर्ने व्यक्तिहरुलाई क्वारेन्टाइन गर्ने, सवै स्थानीय तहरुमा अभिलेख संकलन गर्ने कार्य भइरहेको छ, यसका साथै कोरोना संक्रमितको उपचारका लागि एम्वुलेन्स समेत तयारी अवस्थामा राखिएको छ ।
अहिले गाउँघरमा नयाँ मान्छे प्रवेश गर्ने वित्तिकै सम्वन्धित निकायमा सूचना गर्ने कार्य भइरहेको छ । स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन स्थलहरुमा समेत अहिले जिल्ला बाहिरबाट आएका व्यक्तिहरुलाई राख्ने कार्य शुरु गरिएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आईतवार १७:२२