सल्यानका तीन जनामा कोरोना नेगेटिभ

कभरखवर डेस्क
सल्यान, १९ चैत
जिल्ला अस्पताल सल्यानबाट कोरोना परीक्षणका लागि नमुना पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको छ । रिपोट नेगेटिभ आएपछि सल्यान अस्पतालमा आइशोलेशनमा भर्ना गरिएका तीन जनालाई आजै (वुधवार) डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।
गत चैत १७ गते जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १२ का २ जना र छत्रेश्वरी १ का १ जनामा उच्च ज्वरो देखिएपछि कोरोना परीक्षणका लागि नमुना संकलन गरी काठमाडौ पठाइएको थियो ।
“रिपोर्टमा तीनै जनाको नेगेटिभ देखिएपछि आजै डिस्चार्ज गर्ने तयारी गरेका छौं,” सल्यान अस्पतालका प्रमुख डा अर्जुन बुढाले भन्नुभयो । गत चैत १० गते कामको शिलशिलामा भारत बाट घर आएका वनगाड कुपिण्डे १२ निगाल्चुला माझखर्क एक पुरुषलाई उच्च ज्वरो देखिएपछि उहाँकी श्रीमति सहित सल्यान अस्पतालको आइसो लेशनमा राखेर उपचार गरिएको थियो ।
यस्तै सल्यान जिल्लामा घर भई अन्य जिल्लामा मजदुरी गरिरहेका र अलपत्र परिरहेकालाई सोही जिल्लामा व्यवस्थापन गर्नका लागि सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएको छ । उनिहरुको सहयोगका लागि सम्वन्धित मालिका मार्फत सहयोग गरिने जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार १४:२४