
रमेश कुमार वली
सल्यान, २० चैत । सल्यानको कालीमाटी गाउँपालिकामा १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । छिमेकी मुलुक भारत र विभिन्न जिल्लाबाट कालीमाटी गाउँपालिकामा आएकाहरुलाई कालीमटी गाउँपालिका ७ घुइयाबारीमा रहेको क्वारेन्टाइनमा राखिएको हो ।
क्वारेन्टाइनमा रहेकाहरु मध्ये १४ जना पुरुष र २ जना महिला रहेको कालीमाटी गाउँपालिका ७ का वडाध्यक्ष नैनसिंह राणाले जानकारी दिनुभयो । “यस वडामा छिमेकी मुलुक भारत सहित अन्य जिल्लाहरुबाट आएका सवैलाई विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखेका छौ, उहाँहरु सवैलाई क्वारेन्टाइनमा रहुन्जेल खाने वस्नेको व्यवस्था गाउँपालिकाले गर्ने छ,” वडाध्यक्ष राणाले जानकारी दिनुभयो ।
कोरोना संक्रमणलाई रोकथाम गर्नका लागि वाहिरबाट गाउँपालिकामा आउने व्यक्तिहरुलाई कडा निगरानी गरिएको कालीमाटी गाउँपालिकाले जनाएको छ । गाउपालिका भित्र ४ स्थानमा १ शय शैयाको क्वारेन्टाइन निर्माण गरिएको कालीमटी गाउँपालिकाका अध्यक्ष दान बहादुर खत्रीले जानकारी दिनुभयो । “हामीले कोरोना संक्रमण रोकथामका लागि गाउपालिकाको वडा नं. ७, ३, ५ र १ मा क्वारेन्टाइन निर्माण गरेका छौ, जिल्ला बाहिरबाट आउने सवैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरी गाउँपालिाकाले निगरानी बढाएको छ,” अध्यक्ष खत्रीले भन्नुभयो ।
“अहिले गाउँपालिका भित्र धेरै व्यक्तिहरु आएको भन्ने सूचना प्राप्त भएको छ हामीले निगरानी बढाएको छौ, सुविधायुक्त क्वारेन्टाइन निर्माण गरेका छौ, त्यहाँ सबैलाई अनिबार्य राख्ने व्यवस्था हुन्छ,”अध्यक्ष केसीले भन्नुभयो ।
गाउँपालिकामा भने कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री किनेर पनि नपाएको जानकारी दिनुभयो । “हामीले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री किनेर पनि पाएनौ तर पनि हामी यसलाई रोकथामका लागि खटेर लागेका छौै,” अध्यक्ष खत्रीले भन्नुभयो ।
यसलाई आवश्यकता अनुसार बृद्धि गर्दै लैजाने योजना रहेको गाउँपालिकाको भनाई छ । गाउँपालिकाले गाउँगाउमा गएर वाहिरबाट आएका व्यक्तिहरुको तथ्याकं संकलन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मार्शल कुमार वलीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २० चैत्र २०७६, बिहीबार १७:४०