कभर खबर

  • २१ चैत्र २०७६, शुक्रबार २१:०७

नगरपालिकामा कोरोना सम्बन्धि स्वास्थ्य सामाग्री हस्तान्तरण

इन्द्र बुढाथोकी
सल्यान, २१ चैत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माको व्यक्तिगत लगानीमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ ।
उहाँहरुले बनगाड कुपिण्डे नगरपालिकामा पिपिइ १० सेट, सर्जिकल मास्क २ हजार थान र सिटामोल लगायत औषधी १ कार्टुन हस्तान्तरण गर्नुभएको हो । यस्तै कुमाख गाउँ पालिकामा पिपिइ १० सेट, सर्जिकल मास्क १ हजार ५ सय थान र सिटामोल लगायत औषधि १ कार्टुन शुक्रबार हस्तान्तरण गरिएको कर्णाली प्रदेशका मुख्य मन्त्रीका प्रमुख राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले जानकारी दिनुभयो ।
अन्य स्थानीय तहरुमा पनि छिटै उपलव्ध गराउनका लागि पहल भइरहेको कर्णाली प्रेदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । “कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु छिटै सल्यानका सवै स्थानीय तहहरुमा पु¥याउनका लागि पहल भइरहेको छ,” मन्त्री ज्वालाले भन्नुभयो ।
यस्तै बनगाड कुपिण्डे नगरपालिकाले आफ्नै लगानीमा पिपिइ १५ थान, माक्स ५ सय थान सेन्टाइजर, ग्लोव्स, लगाएतका सामाग्री खरिद गरिएको बनगाड कुपिण्डे नगरपालिका उप प्रमुख मन्जु यरिले जानकारी दिनुभयो । उप प्रमुख यरिका अनुसार नगरमा २५ सेट भएको बताउनुभयो ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार २१:०७