बिशेषज्ञ सहितको स्वास्थ्यकर्मी हेलिकप्टरबाट पठाउने व्यवस्था गरेका छौं : मन्त्री रावल

रमेश कुमार वली
सल्यान, २२, चैत (डेस्क) कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल रावलले कर्णालीलाई कोरोनामुक्त बनाउनका लागि हेलिकप्टरको व्यवस्था गर्न लागेको जानकारी दिनुभएको छ । कोरोनाको संक्रमण देखिन साथ सोही स्थानमा बिशेषज्ञ सहितको स्वास्थ्यकर्मी पठाउनका लागि हेलिकप्टरको व्यवस्था गरेको मन्त्री रावलले वताउनुभयो ।
सल्यानको सदरमुकाम खलंगामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रावलले कर्णाली प्रदेश सरकारले कोरना भाइरस रोकथामका लागि कर्णाली प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिनुभयो ।“ प्रदेश सरकारले जहाँ कोरोनाको संक्रमण देखिन्छ त्यहि ठाउँलाई लकडाउन गरेर उपचार गर्नका लागि एम्वुलेन्स जाने स्थानमा एम्बुलेन्स र जान नसक्ने ठाउँमा हेलिकप्टर मार्फत बिशेषज्ञ सहितको टोली पठाएर उपचार गर्ने व्यवस्था मिलाएका छौ,” मन्त्री रावलले भन्नुभयो ।
कोरोना नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले १० वटै जिल्लामा रहेका अस्पतालहरुको स्तरोन्नतीको लागि ५०÷५० लाख रुपैया उपलव्ध गराएको जानकारी दिनुभयो । “हामीले कारोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु सवै अस्पतालहरुमा पठाइसकेका छौ अब आवश्यकता र मागका आधारमा सबै पालिकाहरुमा उपलव्ध गराउने योजना छ,” मन्त्री रावलले भन्नुभयो ।
प्रदेश भित्रका सवै अस्पतालहरुमा कोरना उपचारका लागि आवश्यक स्वास्थ्यकर्मी भर्ना गर्न मन्त्री आग्रह गर्नुभएको छ । “हामीले कोरोना रोकथामका लागि आवश्यक जनशक्ति भर्ना गर्न निर्देशन दिइसकेका छौ आवश्यकताका आधारमा भर्ना गर्नुस् सरकारले प्रभाबकारी काम खोजेको छ,” मन्त्री रावलले भन्नुभयो ।
यस्तै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले रहात प्याकेज घोषणा गर्न लागको जानकारी दिनुभयो । “देश लकडाउन भएको कारणले विपन्न, ज्याला मजदुरी गरेर खानेहरुका लागि प्रदेश सरकारले रहात प्याकेज घोषणा गर्न लागेको छ , यो जनसंख्या, अशक्त तथा ज्यालादारीको आधारमा पालिकाहरुलाई उपलव्ध गराइनेछ,” मन्त्री ज्वालाले भन्नुभयो ।
कर्णाली प्रदेशमा अहिले सम्म कोरोना संक्रमितहरु नेभेटिएको भएपनि यसबाट सर्तक रहन र उपचारका लागि सरकारले पूर्वतयारी गरेको मन्त्री ज्वालाले जानकारी दिनुभयो । “कोरोनासंग लड्नका लागि हामीले सबै तयारी पुरा गरेका छौ, सरकार तपाइहरुको साथमा छ, नआत्तिएर सतर्कताका साथ जिम्मेवारी पुरा गर्नुस्,” मन्त्री ज्वालाले भन्नुभयो ।
पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा लकडाउनको पुर्ण रुपमा पालना भएको जानकारी दिनुभयो । अहिले सवै स्थानीय तहहरुले विपन्नहरुको तथ्याकं संकलन गरी खाद्यान्न वितरण अगाडी वढाइरकेको जानकारी दिदै सल्यानमा अहिले सम्म कोरोना संक्रमण नदेखिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार २०:११