शारदा नगरपालिकाद्वारा एक वडाबाट अर्को वडामा जान प्रतिबन्ध

रमेश कुमार वली
सल्यान, २३ चैत , सल्यानको शारदा नगरपालिकाले अन्तर वडा आवातजावतमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै नगरका १५ वटै वडाको आवतजावतमा आइतबार देखि पुर्ण रुपमा प्रतिवन्ध लगाएको हो ।
आइतबार बसेको नगर कार्यपालिकाको बैठकले अर्को सूचना नभएसम्मका लागि शारदा नगरपालिकाका १५ वटै वडाहरुमा एउटा वडाबाट अर्को वडामा आवागमनमा प्रतिबन्ध लगाएको शारदा नगरपालिका प्रमुख शरेश अधिकारीले जानकारी दिनुभयो ।
बिरामी, स्वास्थ्यकर्मी र अत्यावश्यक काममा खटिएकालाई भने यो प्रतिवन्ध लागु नहुने नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो । यस्तै बैठकले आफुखुशी राहत बितरणमा समेत रोक लागाएको छ । नगरपालिकाले स्थापना गरेको विपद् ब्यवस्थापन कोषमार्फत एकद्वार प्रणाली मार्फत राहत बितरण गरिने नगरपालिकाले जनाएको छ ।
यस्तै नगरपालिकाले कोरोना भाइरसको रोकथामको समयमा आफनो जिम्मेवारीमा खटिएका विभिन्न क्षेत्रका कर्मचारीहरुलाई ५० प्रतिशत भत्ताको व्यवस्था गर्ने भएको छ । जोखिमपूर्ण अवस्थामा खटिएर कार्य गरिरहेका कर्मचारीहरुको मनोबल बढाउने उद्देश्यले कर्मचारीहरुलाई प्रोत्साहनबापत भत्ता उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २३ चैत्र २०७६, आईतवार २१:२४