गाउँपालिका महासंघ कर्णालीको भिडियो कल बैठक सम्पन्न, स्वाव संकलनका लागि हेलिकप्टरको ब्यवस्था गर्न माग

सल्यान- गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश समितिको भिडियो कल बैठक विहिबार सम्पन्न भएको छ । कोरोना भाईरस रोकथाम सम्बन्धी स्थानीय तहले गरेका प्रयत्न, समस्या र चुनौति सम्बन्धमा बैठकमा छलफल गरी केहि निर्णयहरु गरिएको महासंघका प्रदेश समिति अध्यक्ष भिम बहादुर सेनले बताए ।

कोरोनाको सम्भावित संक्रमण रोक्न स्थानीय तहहरुले खेलेको भुमिका प्रभावकारि भएको ठहर सहित बैठकमा स्वास्थयकर्मीहरुले प्रयोग गर्ने स्वास्थ्य सामग्रीहरु अभावमा स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्न समस्या उत्पन्न भएकाले सामग्री ब्यवस्थापनका लागि प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।


यस्तै लक डाउनको अवस्थामा हुम्ला, मुगु, डोल्पा लगाएतका जिल्लामा खाद्य सामग्रीहरु पुर्याउन नसकिरहेको अवस्था तथा क्वारेन्टाईनमा राखिएका ब्यक्तिहरुको स्वाव संकलन गरी प्रदेश राजधानी सुर्खेतमा पठाउन समस्या देखिएकोले यथाशिघ्र प्रदेश सरकारले हेलिकप्टरको ब्यवस्था गरी ति ठाउँमा स्वाव संकलन र परीक्षणको कार्यलाई प्रभावकारी बनाउन, खाद्यान्न पुर्याउने उचीत व्यवस्था मिलाउन र स्वास्थय सामग्रीहरु यथाशिघ्र सबै सथानीय तहहरुमा पुर्याउन महासंघको तर्फबाट प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको अध्यक्ष सेनले बताए ।

कामको शिलशिलामा भारत तथा तेश्रो मुलुकमा गएका नागरिकहरु लकडाउन पछी स्वदेश फर्कने क्रममा उनीहरुलाई सिमा नाका बाटै क्वारेन्टाईनमा राख्ने ब्यवस्था तथा सबैको स्वाव परीक्षण गरेर मात्रै घर पठाउने ब्यवस्था संघ र प्रदेश सरकारले गर्नुपर्ने माग पनि बैठकले गरेको छ । साथै पालिका तथा जिल्लाका सिमाना क्षेत्रबाट गोरेटो बाटो हुँदै गाउँ प्रवेश गर्नेहरुलाई मध्यनजर राखी ति स्थानमा पनि सम्बनधीत स्थानीय तहले स्वास्थयकर्मी, सुरक्षाकर्मी लगाएतको जनशक्ति परिचालन गरेर हेल्थ डेस्क स्थापना गर्नुपर्ने निर्णय भएको छ ।

बैठकले कोरोनाको सम्भावित संक्रमण रोक्न विभिन्न नाकामा हेल्थ डेस्क, आइसोलेशन वार्ड सहितका अस्पताल स्थापना गर्ने, कोरोना रोकथाम तथा नियन्त्रण कोषको लागि कर्णालीका सबै स्थानीय तहहरु तथा सबै जिल्लाहरुमा विपद् व्यवस्थापन कोषमा बजेट पठाउने, स्थानीय तहहरुमा स्वास्थ्य सामग्रीहरु पठाउने जस्ता कार्यका लागि कर्णाली प्रदेश सरकारलाई र कोरोना भाईरसको संक्रमण हुन नदिन हाल सम्म अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधीहरु, कर्मचारी, महिला स्वास्थ्य स्वयमसेविकाहरु लगाएत सम्पूर्णलाई धन्यवाद दिदै अझै पनि यहाँहरु सबैको सक्रिय सहयोगको अपेक्षा गरेको छ ।

भिडियो कल बैठकमा प्रदेश कार्यसमितिका उपाध्यक्ष जंग बहादुर शाही, सचिव खड्कराज सेजवाल, कोषाध्यक्ष महेन्द्र शाह लगाएतका पदाधिकारिहरु तथा महासंघका केन्द्रीय सचिवालय सदस्य मान बहादुर डाँगी, केन्द्रीय सदस्य रतननाथ योगी, केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत राजेन्द्र प्याकुरेल र प्रदेश अधिकृत कर्ण बहादुर भण्डारी पनि सहभागी थिए ।।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहीबार १८:०५