बनगाड कुपिण्डे नगरपालिकाद्वारा ५० लाखको राहत कोष स्थापना

इन्द्र बुढाथोकी
सल्यान, ३ बैशाख जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले ५० लाखको राहत कोष स्थापना गरेको छ । बुधबार नगरप्रमुख गोबिन्द कुमार पुनको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको हो ।
बिश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना संक्रमणलाई रोकथामका लागि नगरपालिकाले कोषको स्थापना गरेको हो । बैठकले हालसम्म कोरोना भाइरस रोकथामका लागि नगरपालिकाबाट भइरहेका क्रियाकलापहरुको समिक्षा समेत गरेको छ । ।
बैठकले दैनिक ज्याला मजुदरी गर्ने ब्यक्तिहरुको तथ्याङ्क सङ्कलन भइसकेको र संकलन गरिएको तथ्याकका आधारमा यथाशिघ्र खाद्यान्न तथा राहत वितरण गर्ने निर्णय गरेको नगरप्रमुख गोबिन्द कुमार पुनले जानकारी दिनुभयो ।
त्यसैगरी बिपन्न परिबारका एकल महिला, अपाङ्ग, दीर्घरोगी, जेष्ठ नागरिकहरुलाई समेत गरि जम्मा ७ सय ५३ जनालाइ राहत सहयोग उपलब्ध गराइने नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिनुभयो ।
बैठकले सामाजिक सुरक्षा भत्ता घरघरमा गएर वितरण गर्ने निर्णय गरेको ४ न वडा अध्यक्ष मोमत रोकाले जानकारी दिनुभएको छ । कोरोना भाइरसका कारण लकडाउन लम्बिदै गएको र त्यसको असर समाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुलाई पनि पर्ने भएकोले घरघरमा गएर भत्ता वितरण गरिने वडा अध्यक्ष रोकाले बताउनु भएको छ ।
बैठकले राहत कोषमा रकम जम्मा गर्न सम्पुर्ण संघ संस्था तथा इच्छुक ब्यक्तिहरुलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: ३ बैशाख २०७७, बुधबार १९:४७