सल्यानमा २ सय ६३ जनाको र्यापिड टेष्ट सवैको रिपोर्ट ‘नेगेटिभ’

रमेशकुमार वली
सल्यान,४ वैशाख (डेस्क) सल्यानमा बिहीबार २ सय ६३ जनाको ¥यापिड टेस्ट गरिएको छ । भारत लगायत अन्य मुलुकहरुबाट आएका सबै व्यक्तिहरुको आरडिटी विधीबाट कोरोना भाइरसको संक्रमणको परीक्षण गरिएको हो ।
जिल्लाका तीन स्थानीय तहहरुमा गरिएको र्यापिड टेष्टमा सवैको रिपोर्ट ‘नेगेटिभ’ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । “हामीले कपुरकोट, दार्मा र त्रिवेणी गाउँपालिकामा भारत लगायत तेश्रो मुलकबाट आएका व्यक्तिहरुको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधीबाट परिक्षण गरेका थियौं सवैको रिपोर्ट नेगेटिभ देखिएको छ,” डा बुढाले भन्नुभयो ।
विहीबार कपुरकोट गाउँपालिकामा ३६ जना, दार्मा गाउपालिकामा २ सय १० जना र त्रिबेणी गाउपालिकामा १६ जनाको र्यापिड टेष्ट गरिएको थियो भने जिल्ला अस्पताल सल्यानमा आइसोलेशनमा रहेका एक जनाको टेष्ट गरिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
यसैबीच हालै श्रीलंकाबाट भ्रमण सकेर फर्किएका कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको पनि र्यापिड टेष्ट गरिएको छ । उहाँको पनि रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।
यस्तै शुक्रबार सिद्धकुमाख, छत्रेश्वरी र कुमाख गाउँपालिकामा परीक्षण गरिने छ भने शनिबार शारदा नगरपालिका र बागचौर नगरपालिकामा तथा आईतबार वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा कोरोनाको परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालय सल्यानले जानकारी दिएको छ ।
स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. बुढाले घरमा सतर्क रहन, लकडाउनको पालना गर्न, सामाजिक दुरी कायम गर्न सबैमा आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहीबार १९:३४