प्रदेश सरकारद्वारा रुकुम पुर्बमा एम्बुलेन्स सहयोग

प्रचण्ड खत्री
रुकुम पुर्ब, ५ वैशाख । रुकुम (पूर्व) जिल्लामा पहिलोपटक एम्बुलेन्स आउने भएको छ । ५ नम्वर प्रदेश सरकारद्वारा हिमाली र दुर्गम जिल्ला रुकुम (पुर्व) लाई एम्वुलेन्स प्रदान गरेपछि जिल्लामा पहिलोपटक एम्वुलेन्स सुविधा पुग्ने भएको हो ।
विश्वभर कोरोना भाइरस महामारी फैलिरहेका बेलामा जिल्ला अस्पतालको मातहतमा रहने गरी सो एम्बुलेन्स उपलब्ध गराउन थालिएको हो जिल्ला स्वास्थ कार्यलय रुकुम पुर्बले जनाएको छ । “जिल्लामा एम्बुलेन्स उपलब्ध गराउनका लागि लामो समयदेखि पहल गरिए पनि ढिला भइरहेको थियो तर कोरोना महामारीको उच्च जोखिम रहेको भन्दै जिल्लालाई प्राथमिकतामा राखेर एम्बुलेन्स उपलब्ध गराइएको हो”, प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले भन्नुभयो ।
शुक्रबार साँझसम्म एम्बुलेन्स जिल्लामा आइसक्ने प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताउनुभयो । कोरोना भाइरस जाँचका लागि प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, आपूर्ति व्यवस्थापन केन्द्रले थप स्वास्थ्य सामग्री पनि पठाएको ओलीले जानकारी दिनुभयो । ओलीका अनुसार जिल्लामा पठाइएका थप स्वास्थ्य सामग्रीमा २० थान पिपिई, सर्जिकल मास्क, सेनिटाइजरलगायत छन् ।
यातायातको सुविधा पुगेका ठाउँमा पनि स्थानीयहरुले एम्बुलेन्स र अन्य सवारी साधनको अभावले अकालमै ज्यान गुमाएका घटना बढेका छ्न । अब त्यस्ता समस्याका दिन सकिएको भूमे गाउँपालिका वडा नम्बर ६ की सविना बुढाले वताउनुभयो । जिल्लामा एम्बुलेन्स चलाउनका लागि जिल्ला अस्पतालले चालकको व्यवस्था गर्ने बताइएको छ । अब भने जिल्लामा २४ सै घण्टा बिरामीलाई सेवा दिने गरेर एम्बुलेन्स तयारी अवस्थामा राखिने छ ।

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार १९:१६