
काठमाडौं– ६, बैशाख। काठमाडौंका विभिन्न इट्टाभट्टामा काम गर्ने सल्यानका ६ सय मजदुर अलपत्र परेका छन् ।
रोजगारी खोज्दै काठमाडौं आएका उनीहरु लकडाउनले इटाभट्टा बन्द हुँदा अलपत्र परेका हुन् ।
लकडाउनको २६ औं दिनसम्म आईपुग्दा जोहो गरेको खाद्यान्न सकिएपछि घर फर्किनु बाध्यता जस्तै बनेको बनगाड कुपिण्डेका सुरेश बुढामगरले बताए ।
उनी सरस्वति एच इट्टाभट्टामा काम गर्दै आएका छन् । उनले ६ सय जना मध्ये आफूसँगै एक सय २० जना रहेको उल्लेख गरे । उनले भने, ‘हामी यहाँ ६ सय बढी छौं । १२० जना पूर्ण रुपमा समस्यामा परेका छन् । उनीहरुसँग खानेकुरा नै सकिएको छ । यहाँ के गर्ने हामीलाई घर जाने वातावरण बनाइदिए राहत हुने थियो । ’
काम गर्नेसँगै साना नाबालक पनि रहेकाले थप समस्या भएको उनले सुनाए । अलपत्र मजदुरहरु मध्ये सबैभन्दा धेरै बनगाड कुपिण्डे नगरपालिकाका छन् । त्यसबाहेक सल्यानका अन्य तहका सर्वसाधारणहरु पनि छन् ।
लकडाउनले कारखाना बन्द भएपछि बसेको ठाउँबाट पनि हट्न भन्दै इटाभट्टा सञ्चालकले दबाब दिन थालेपछि उनीहरु थप पीडित बनेका छन् । उनीहरुले सल्यानका स्थानीय सरकार तथा जनप्रतिनिधि मिलेर आफ्नो दुःखमा परेका मजदुरको चाँडै उद्धार हुने विश्वास लिएका छन् ।
प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार २०:५५