कर्णालीमा ६ अर्बको परियोजना, २८ हजार ७ सय युवालाई स्वरोजगार बनाइने (अडियो सहित)

सल्यान- कोरोना भाईरसको कारण विदेशीयका युवाहरु फर्कने क्रम जारी छ । स्थीति सहज भएमा अझै रोजगारीको शिलशिलामा विदेश गएका युवाहरु नेपाल फर्कनेछन् । यहि कुरालाई मध्यनजर गर्दै र बाँझो रहेका जमिनलाई उपयोग गरेर अर्गानीक कृषि उत्पादन मार्फत २८ हजार सात सय २० युवालाई रोजगारी दिने गरी कर्णाली प्रदेश सरकारले योजना अघि सारेको छ । प्रदेश सरकारको भूमि, ब्यवस्था तथा कृषि मन्त्रालयले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले बनाइएको यस योजनालाई अर्गानीक कृषि ब्यवशायीक स्वरोजगार परियोजनाको नाम दिएको छ । यो कस्तो खालको परियोजना हो भनेर सहकर्मी शंकर के सीले कर्णाली प्रदेश सरकारका भूमि, ब्यवस्था ,कृषि तथा सहकारीमन्त्री विमला केसीलाई सोधेका छन् ।

कर्णाली प्रदेश भित्रका एक वडामा रहेका ४० जना युवालाई रोजगार दिने गरी आगामी आर्थिक वर्षदेखी यो परियोजना शुरु हुने भूमि, ब्यवस्था ,कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् । स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकार तथा परियोजना एवम् जनसहभागीता गरी पाँचवटै सेक्टर सहभागी हुने परिकल्पना गरिएको छ, मन्त्री केसीले भनिन्, यो परियोजना कार्यान्वयनमा सबैभन्दा बढी स्थानीय सरकारको भुमिका हुने छ ।

प्राविधिक विषय पढेका युवाहरु तथा अन्य वेरोजगार युवाहरुलाई प्राथमिकता दिइने उनको भनाई छ । प्रदेश सरकारले कार्यविधि तयार गर्ने र युवाहरु छनौट देखी परियोजना कार्यान्वयन गर्ने कार्य स्थानीय सरकारले गर्ने मन्त्री केसीले जानकारि दिइन् । ‘हाम्रो प्रदेशमा १० वटा जिल्ला र ७९ स्थानीय तहमा ७१८ वडाहरु रहेका छन् । सबैभन्दा पहिले हामी उत्पादनको सम्भाव्यता बुझेर परियोजना बनाउछौँ,’ उनले भनिन्, ‘यसमा युवाहरुको पनि लागत सहभागीता हुन्छ ।’

यस परियोजनाका बारेमा मन्त्री केसीले संघीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्रीसंग पनि कुरा भएको बताइन् । सरकारको प्राथमिकता स्वास्थ्य, उत्पादन र स्वरोजगारमा बढी हुने जनाउदै र ६ अर्बले करिव २९ हजार युवाहरु स्वरोजगार हुन्छन् भने यो प्रस्ताव निकै राम्रो छ, प्रस्ताव गर्नुस् मं प्रक्रिया अगाडि बढाउछु भनेर संघीय मन्त्रीले प्रतिवद्धता जनाएको उनले बताइन् ।

यो परियोजनाका लागि ३ अर्ब संघीय सरकार, १ अर्ब प्रदेश सरकार, स्थानीय तहको १ अर्ब र युवाहरुले १ अर्ब रुपैयाँ रकम राखेमा ६ अर्ब रुपैयाँको परियोजना कल्पना गरिएको मन्त्री केसीले जानकारि दिइन् । उनले भनिन्, ‘हाम्रो मात्र क्षमताले भ्याउदैन, यसमा संघीय सरकारले सहयोग गर्याे भने यहाँका प्राविधिक विषय पढेका र वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन सकिन्छ भनेर यो परियोजना तयार गरिएको हो ।’

कहिं पशुपालन होला, कतै वेमौषमी तरकारि खेती होला, कतै फलफुल खेती होला, यी सबै विषयको अध्यन गरेर युवाहरुलाई सूचनामार्फत आह्वान गरिने मन्त्रालयको भनाई छ । इच्छुक, केही गर्न चाहने दृढ इच्छा शक्ति भएका युवाहरु छनौट गरेर हरेक वडामा नमुना र अर्गानीक कृषि उत्पादन गरिने कर्णाली सरकारका भूमि, ब्यवस्था ,कृषि तथा सहकारीमन्त्री केसीले बताइन् ।

 

प्रकाशित मिति: ८ बैशाख २०७७, सोमबार १७:०२