मजदुर लिएर दुईवटा गाडी सल्यान हिडे, सांसद शाहको पहलमा ७९ मजदुरको उद्दार

काठमाडौं–०८, बैशाख| काठमाडौं सहितका विभिन्न ठाउँमा अलपत्र परेका ७९ मजदुरको उद्धार गरिएको छ ।

काठमाडौंका इट्टाभट्टामा काम गर्ने सल्यान कपुरकोट गाउँपालिकाका २२ जना, शारदा नगरपालिका वडा नम्बर १४ ढाँरकानीका १८ जना, सिद्धकुमाख गाउँपालिकाका ६ जना र कुमाख गाउँपालिकाका १० जना गरी ५६ जनालाई दुईवटा गाडीमा राखेर सोमबार बेलुका सात बजे काठमाडौबाट सल्यान पठाईएको प्रदेश सांसद गुलावजंग शाहले बताउनुभयो ।

उहाँले बाटोमा मजदुरहरु अलपत्र परेको सुचना गाउँपालिकाले दिएपछि नेकपा सल्यानका नेता रमेश मल्ल र आफ्नो समन्वयमा उद्धार गरि पठाईएको जानकारी दिनुभयो ।

यसैगरी सोमबार नै तनुहँको हाईड्रोपावरमा काम गर्न गएका २३ जनाको पनि उद्धार गरिएको छ । तनुहँको दमौलीमा अलपत्र परेका सल्यानका मजदुरहरुलाई सांसद शाहको पहलमा तनुहँ १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले सल्यान पठाउनु भएको हो । उनीहरु आईतबारदेखि अलपत्र परेका थिए । उहाँले आइतबारदेखि नै उनीहरुको खाने बस्ने व्यवस्था मिलाउनु भएको थियो । शाहको जानकारीमा आएपछि तनुहँका नेता श्रेष्ठसंग समन्वय गरी सल्यान पठाउनुभएको हो । उहाँले भन्नुभयो, ‘लमजुङको बुर्दीखोला स्थित विन्दवासिनी हाइड्रोपावर कार्यरत सल्यान जिल्लाका २३ जना मजदरहरुलाई सामेबार प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठसंग समन्वय उद्धार गरिएको छ । उनीहरुलाई घरतर्फ पठाईएको छ ।’

कोरोना भाइरस (कोभिड–१९) का कारण देशभरका विभिन्न स्थानमा मजदुरहरु अलपत्र परेका छन् । काठमाडौंमा अलपत्र अन्य मजदुरहरुको उद्धारका लागि पनि सबै निकायसंग पहलकदमी थालिएको सांसद शाहको भनाई छ ।

काठमाडौंका इट्टाभट्टामा अझै ५ सयको हाराहारीमा रहेका अलपत्र मजदुरहरु उद्धारको पखाईमा रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा अलपत्र परेका मजदुरहरुलाई सवारी साधनको व्यवस्था गरि गन्तव्यसम्म पुर्याउन लिएको नीति बमोजिम अलपत्र परेका मजदुरलाई गन्तव्यमा पुर्याउने आफ्नो दायित्व रहेको सांसदहरुको भनाई छ ।

प्रकाशित मिति: ८ बैशाख २०७७, सोमबार २१:५७