सम्भावित संक्रमण हुन नदिन कपुरकोटमा देशभित्रैबाट आएका पाँच सय ७७ जनालाई छुट्टै राखियो

सल्यान-  सल्यानको कपुरकोट गाउँपालिकामा देशका विभिन्न स्थानबाट आएका पाँच सय ७७ जना व्यक्तिहरु छुट्टै बसेका छन् । कोरोना भाईरसको संक्रमण रोकथाम र जोखिमबाट बच्नका लागि बुुुधबार सम्म एक सय ८७ महिला र तीन सय ९० जना पुरुष गरी जम्मा पाँच सय ७७ जना समुदायले व्यवस्था गरेको छुटै स्थानमा बसिरहेको गाउँपालिकाले जनाएको छ ।

कोभिड– १९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनका अनुसार गाउँपालिकाका विभिन्न १९ स्थानमा उनीहरुलाई राखिएको छ । वडा नं. १ मा महिला ८९, पुरुष ११६ जना, वडा नं. २ मा महिला २२, पुरुष ५४ जना, वडा नं. ३ मा महिला ४, पुरुष १३ जना रहेका छन् ।

यस्तै वडा नम्बर ४ मा महिला ४, पुरुष २७ जना, वडा नं. ५ मा महिला ४३, पुरुष १४१ र वडा नं. ६ मा महिला २५, पुरुष ३९ जना छुट्टै बसेका छन् । सम्बन्धीत वडामा रहेका सामुदायीक विद्यालयका भवनमा उनीहरुलाई राखिएको छ भने समुदाय स्तरबाट नै स्वयमसेवक टोलिहरु खटेका छन् । जनप्रतिनिधीहरुको समन्वयमा र गाउँपालिकाको समेत साझेदारीमा निर्माण गरिएका बसोबास स्थानलाई स्थानीयले सामुदायीक क्वारेन्टाई भनेका छन् ।

स्वास्थ्य, सरसफाई सामग्री पुर्याउदै गाउँपालिका

यसैविच सामुदायीक क्वारेन्टाईमा गाउँपालिकाले विभिन्न स्वास्थ्य र सरसफाई सम्बन्धी सामग्री पुर्याउन शुरु गरेको छ । बुधबार  स्यानीटाईजर, मास्क, ट्वाईलेट सफा गर्नका लागि प्रयोग हुने फिनेल, हर्पिक लगाएतका सामग्री नागरिकहरु छुट्टै बसेका वडा नम्बर १, २ र ५ का विद्यालयहरुमा पुर्याइएको स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी गराए ।

सो अवसरमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले कोरोना संक्रमणबाट बच्न सरकारको निर्देशन तथा स्वास्थयकर्मीहरुको सुझाव पालना गर्न आग्रह गरे । उनले स्थानीय सरकार आफ्ना नागरिकको हरेक प्रकारको सुख दुखमा रहेको जनाउदै अनुशासित र धैर्यतापूर्वक सामाजिक दुरी कायम राख्दै दुई साता सम्म समुदायले निर्माण गरेको क्वारेन्टाईनमा बस्न आग्रह गरे । यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले संकटको बेला सबै एक मतका साथ अगाडी बढ्नुपर्ने र कोरोना भाइरसलाई भित्रनै नदिन हरेक सावधानी अपनाउनुपर्नेमा जोड दिइन् । बिहिवार  वडा नम्बर ३, ४ र ६ मा स्वास्थ्य तथा सरसफाईका सामग्रीहरु सहित सचेतनाका कार्यक्रम लगेर जाने स्वास्थ्य संयोजन दाहालले जनाए ।

वडा अध्यक्ष लगाएतका जनप्रतिनिधी, स्थानीय राजनितिक दल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा समाजसेवीहरु कोरोना सतर्कताका लागि दिन रात नभनेर खटिरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार २०:०७