बि एन्ड बि ईन्टरप्राईजेज द्वारा बादी समुदायमा खानेपानी वितरण

प्रचण्ड खत्री
सल्यान, १२ वैशाख । खानेपानीको अभाव झेल्दै आएका बादी समुदायमा खानेपानी वितरण गरिएको छ । रुकुम पश्चिमको चौरजहारी १ लामिछाने गाउँमा रहेका बादी समुदायमा खानेपानी अभाव भएपछि विएण्ड वि इन्टरप्राइजेजद्वारा खानेपानी वितरण गरिएको हो ।
बादी समुदाय रहेको वस्तीमा खानेपानीको अभाव भएको खवर सुनेपछि खानेपानी वितरण गरिएको इन्टरप्राइजेजेले जनाएको छ । इन्टरप्राइजेजद्वारा वस्तीका १८ घर र आसपासका घरहरुमा केहीदिन सम्म पुग्ने खानेपानी वि तरण गरिएको हो ।
बि. एण्ड बि. इन्टरप्राईजेजका सञ्चालक बालिका भण्डारी बुढाका अनुसार, बादी समुदायमा खानेपानीको अभाब भएको थाहा पाएपछि मुहानबाट ट्यांकरमा पानी ल्याएर बितरण गरिएको हो । चौरजहारी उद्योग बाणिज्य संघ रुकुम पश्चिमको सदस्य समेत रहनु भएकी भन्डारीले यो सानो सहयोग गरेको भन्दै दलित, बिपन्न र अप्ठ्यारोमा परेकाहरुलाई सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।
वस्तीमा खानेपानी वितरण गरेपछि बादी समुदाय खुशी भएाक छन् । “यस्तो अप्ठ्यारो बेला हाम्रो अभाव देखेर खानेपानी वितरण गर्नुभयो , केहि दिन पिउने र घरायसी काममा यो पानीले सघाउ पुग्नेछ, यो कार्यप्रति हामी खुशी भएका छौ ।” स्थानीय राजकुमार बादीले भन्नुभयो ।
दैनिक काम गरेर परिवारको दैनिकि गुजार्दै आएका बादी समुदायमा कोरोना संक्रमणको कारण थपिएको लकडाउनले दैनिकी कठिन बन्दै गएको छ । यस्तो अप्ठ्यारो बेला बिपन्न परिवारलाई घरमै पानी ल्याईदिनु समाजसेवाको नमुना कार्य भएको स्थानीय जनप्रतिनिधि प्रेमलाल आचार्यले बताउनुभयो ।
बढ्दो गर्मीसंगै यस क्षेत्रमा खानेपानीको अभाव हुन थालेपछि यहाँका बासीन्दाहरु नजिकैको खोला तथा भेरी नदिको पानी पिउन बाध्य भएका छन् ।

प्रकाशित मिति: १२ बैशाख २०७७, शुक्रबार १८:१०