
इन्द्र बुढाथोकी
वैशाख १५,सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घरमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरेको छ । लकडाउनका कारण बृद्धवृद्धाहरु वडा कार्यालय सम्म जान नसक्ने भएका कारण नगरपालिकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
नगरपालिकाले ज्येष्ठ, एकल, अपांगता, दलित र बाल पोषण भत्ता घरमै गएर वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका ३ हजार २३ जनालाई घरमै पुगेर भत्ता वितरण भइरहेको बनगाड कुपिण्डे नगरपालिकाका सूचना अधिकारी धर्मराज ढकालले जानकारी दिनुभयो । जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको ढकालले बताउनुभयो ।
लकडाउनको समयमा नै नपाउँदा समस्यामा परेका नागरिक अहिले घरमै आएर जनप्रतिनिधि र कर्मचारीले भत्ता दिँदा दंग परेको बनगाड कुपिण्डे नगरपालिका ८ का वडाध्यक्ष कुल बहादुर पुरीले बताउनुभयो । लकडाउनले जनप्रतिनिधि र जनतालाई नजिक बनाउन पनि मद्दत गरेको उहाँको भनाई छ । जनतका घरघरमा गएर कोरोना सम्बन्धी जनचेतनामूलक कुरा सिकाउनुका साथै भता वितरण गरिएको अध्यक्ष पुरिले बताउनुभयो । अन्य वडाहरुमा पनि टोलटोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको नगरपालिकाले जनाएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको दोस्रो चौमासिक दुई करोड ३१ लाख १३ हजार ६ सय सामाजिक सुरक्षा भत्ता वितरण हुने जानकारी दिनुभयो ।
प्रकाशित मिति: १५ बैशाख २०७७, सोमबार २१:१८