धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना संक्रमण भएको पुष्टि, दाहसंस्कार गर्ने तयारी

काठमाडौं– नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाकमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयलका सहप्रवक्ता डाक्टर समिर अधिकारीले नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको विज्ञप्ती मार्फत पुष्टि गरेका हुन् ।

उनी सिन्धुुपाल्चोक घर भएकी २९ वर्षीया महिला हुन् । उनलाई सुत्केरी गराउन बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । बैशाख २४ गते नर्मल डेरीभरी पछि स्वास्थ्य अवस्था सामान्य भएकाले उनलाई अस्पतालले बैशाख २५ गते डिस्चार्ज गरेको थियो । डिस्चार्ज भएको ८ औं दिनमा बिहीबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय अस्पतालमा लगिएको थियो ।

सोही क्रममा कोरोनाको लक्षणहरु देखिएपछि उनलाई आकस्मिक रुपमा बिहीबार धुलिखेल अस्पताल लगिएको थियो । सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पताललाई सील गरिएको छ । उनको उपचारमा संलग्न चिकित्सकलाई पनि आइसोलेसनमा राखेर कोरोना परीक्षण थालिएको छ ।

धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ ।

कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ ।

पछिल्लो अध्याबधिक अनुसार नेपालमा थप दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप दुईजनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले जनाकारी दिए । सहप्रवक्ता डा अधिकारीका अनुसार धनुषा निवासी २० वर्षीया र ६५ वर्षीया दुईजना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।

ती मध्ये एकजनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ती:

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार २१:१२