भारतबाट फर्किएका नागरिकहरु परिक्षणविना सल्यान आए, प्रहरीकै मिलेमतोमा एक व्यक्तिबाट १५ सय भाडा असुलियो

सल्यान- कोरोना भाइरसको परिक्षणविना नै चर्काे भाडा तिरेर सल्यानका नागरिकहरु भारतबाट फर्किएका छन् । भारतको महाराष्ट्र, गडवाल लगाएतका क्षेत्रबाट नेपालगञ्ज आएका सल्यानका नागरिकहरुको आरडीटी तथा पिसिआर जाँच पनि भएको छैन भने प्रहरी र यातायात व्यवशायीको मिलेमतोमा चर्काे भाडा तिराएर जवरजस्ती जिल्ला पठाएको उनीहरुले आरोप लगाएका छन् ।

बुधबार राती कर्णाली प्रवेशद्वार सल्यानको कपुरकोट नाकामा आएका ५६ जना नागरिहरुले प्रतिव्यक्ति १५ सय रुपैयाँ भाडा तिरेको गुनासो गरे । कतिपयले भाडा दिनलाई पैसा नभएपछी मोवाईल फोन विक्रि गरेको जनाएका छन् । उनीहरुले खाना समेत खान नपाएको बताएका छन् ।


सल्यान बनगाड कुपिण्डे नगरपालिकाका गोपिलाल रानाले नेपालगञ्जमा प्रहरीले डण्डा लगाउँछौँ भन्दै गाडिमा राखेको र एक व्यक्तिबाट १५०० रुपैयाँ असुलेको बताए । महाराष्ट्र नासिकबाट १ लाख ६२ हजार भारतीय रुपैयाँ तिरेर करिव २६ जना रुपैडिहा सम्म आएको जनाउदै बनगाड कुपिण्डे नगरपालिका वडा नं ३ निवासि हस्त रानाले नेपाल आएर थप दुख पाइएको बताए ।

वनगाडका ३५ जना, दार्माका १९ जना र कपुरकोट तथा छत्रेश्वरीका एक÷एक जना ब्यक्तिहरु ना ५ ख ५२० नम्बरको बसमा कपुरकोट समम आइपुगेका छन् । उनीहरुलाई कपुरकोटमै रोकि राखिएको छ । उनीहरु तथा गाडि चालकले पनि १५०० रुपैयाँ भाडा प्रहरीले नै तोकिदिएको बताएका छन् । छत्रेश्वरी गाउँपालिका दारिमज्युलाका बचन पुनले ४ हजार रुपैयाँमा मोवाईल विक्रि गरेर आफु र साथीको भाडा तिरेर दाङ सम्म आएको र त्यहाँबाट फेरि ५ सय रुपैया ँतिरेर अर्काे गाडिमा सल्यान आएको बताए ।

भारतबाट आएकाहरुको नाकामा कुनै पनि चेकजाँच नभएको पाइएको छ । गडवालबाट आएका सल्यान दार्मा गाउँपालिका वडा नं ६ का सागर बुढाथोकीले आफुहरु कसैको पनि चेकजाँच नभएको र ३ दिनमै भारतबाट सल्यान आइपुगेको बताए ।
कपुरकोट नाकामा रहेका उनीहरुलाई यहिँ नै आरडीटी परिक्षण गरेर सम्बन्धीत पालिकामा पठाउने तयारि भइरहेको हेल्थ डेस्क कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनले बताए । उनीहरु भोकै रहेकाले केहि खानाको ब्यवस्थापनमा लागेको पनि उनले बताए ।

प्रकाशित मिति: ८ जेष्ठ २०७७, बिहीबार ०९:३२