कुकुरहरुले लखेटेर घाईते बनाएको रतुवा मृगको उद्धार

सल्यान – सल्यानमा भाले रतुवाको उद्धार गरिएको छ । मंगलबार जिल्लाको कपुरकोट बजारबाट रतुवा मृगको उद्धार गरिएको हो । विहानै बजार क्षेत्रमा प्रवेश गरेको रतुवालाई कुकुरले लखेटेर घाइते बनाएका थिए । बजारमा रहेका कुकुरहरुले टोकेर घाइते बनाएको भाले रतुवालाई स्थानीय र प्रहरीले उद्धार गरेको प्रहरी चौकी कपुरकोटका ईन्चार्ज दत्त बहादुर मल्लले जानकारि दिए ।

उद्धार गरेको रतुवालाई उपचार लगाएतका कार्यका लागि सदरमुकाम पठाउने तयारि भइरहेको सब डिभिजन वन कार्यालय कपुरकोटले जनाएको छ । वन रक्षक डिल बहादुर बुढाथोकीले रतुवाको भाले अन्दाजी दुई वर्षको रहेको जनाउदै जिल्ला पठाउने तयारि भइरहेको बताए । रतुवाको विभिन्न भागमा कुकुरले दाँत गाडेको उनले बताए ।

पछिल्लो वर्ष सामुदायीक वन क्षेत्रमा जंगल बढे संगै मृगको संख्यामा पनि बृद्धि आएको जानकारहरुले बताउने गरेका छन् । तर चोरी शिकारी, कुकुरले लखेट्ने तथा जलवायु परिवर्तनका कारण वन्यजन्तु बस्तीतिर झर्ने गर्छन् । बस्तीमा झर्ने गरेका बन्यजन्तुहरुको स्थानिय, वन उपभोक्ता समितीका पदाधिकारी, प्रहरी र वन कार्यालयको समन्वयमा उद्धार गरि उनीहरुलाई अनुकुल हुने वनजंगलमा छोड्ने गरिएको डिभिजन वन कार्यालय सल्यानले बताएको छ ।


यस अघि सल्यानमा १५ वटा बन्यजन्तुको उद्धार गरिएको छ । जिल्लाका बिभिन्न बस्ती तथा बस्ती आसपासका क्षेत्रहरुमा गरेर यसै वर्ष ११ वटा घोरल, १ वटा हुडार र ३ वटा रतुवाको उद्धार गरी उनीहरुलाई अनुकुल हुने बाताबरणमा छोडिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

रतुवा सल्यान लगाएतका पहाडी क्षेत्रमा पाइने दुर्लभ जनावरमा पर्दछ । यो एक प्रकारको शाकाहारी तथा स्तनधारी जंगली जनावर हो । हेर्दा घोरल जस्तै देखिने रतुवाको रंग रातो हुन्छ ।रतुवाको पोथीको सिंग हुँदैन । तर भाले जातीको रतुवाको सिंग झर्ने गर्छ । भाले जातीको सिंग प्रत्येक वर्ष झर्ने र नयाँ पलाउने गरेको वन संरक्षक डिल बहादुर बुढाथोकीले बताए ।

प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलवार ०९:१३