सल्यानमा कोरोना संक्रमित व्यवस्थापनमा नेपाली सेना सक्रिय

रमेशकुमार वली
सल्यान, ४ असार
गत जेठ १८ गते सल्यानमा पहिलोपटक बनगाड कुपिण्डे नगरपालिकामा २५ जनलाई कोरोना संक्रमणको पुष्टि भयो । २५ जना संक्रमितहरु मध्ये १२ जनलाई जिल्ला अस्पताल सल्यानमा रहेको आइसोलेशनमा उपचार गर्ने भनेर तयारी गरिएपनि बाँकी १३ जनाको टुंगो नलाग्दा संक्रमितहरु ४८ घंटा सम्म त्रिपाल र क्वारेन्टिनको वरण्डामा वस्न बाध्य भए । संगै संक्रमित भएकाहरुमध्ये आधाको सल्यान अस्पतालमा भर्ना गरिसकिएपछि पनि बाँकीलाई भने प्रादेशिक अस्पताल सुर्खेत लिने वा चौरजहारीमा लिएर उपचार गर्ने भन्ने अलमल नै भयो । चौरजहारी अस्पतालले सल्यानका संक्रमितहरु लिन नमानेपछि अन्तमा प्रादेशिक अस्पताल सुर्खेतमा लिएर भर्ना गरियो ।

नेपाली सेनाद्धारा सल्यान बहुमुखी क्याम्पसमा निर्माण गरेको आइशोलेशन

पहिलोपटक देखिएका संक्रमितहरुको व्यवस्थापनको काम नसकिदै जिल्लामा थप संक्रमितहरु थपिने क्रम वढ्यो । जेठ २० गते सम्म संक्रमितहरुको संख्या ५१ पुग्यो जसमा ९ जना भने दार्मा गाउँपालिकका थिए । जिल्लाका सवै स्थानीय तहहरुले क्वारेन्टिनको व्यवस्थापनमा ध्यान दिएको भएपनि आइशोलेशन वेड निर्माणमा ध्यान नदिदा संक्रमितहरुको व्यवस्थापन जटिल बन्दै गएको थियो । असार २ गते सम्म आउदा जिल्लाका कोरोना संक्रमितको संख्या १ सय ३७ पुगेको छ भने धेरैको पिसआर रिपोर्ट आउन बाँकी नै छ ।
कोरोना संक्रमितहरुको संख्या वढ्दै जाने र अन्य अस्पतालहरुले समेत सल्यानका संक्रमितहरुलाई उपचार गर्न नमानेपछि जिल्लामा आइशोलेसन वेड निर्माण गर्ने वहस शुरु गरियो ।

आइशोलेशन निर्माण गरिएको सल्यान क्याम्पसमा शौचालय निर्माण गर्दै नेपाली सेना

यहि क्रममा नेपाली सेनाले सल्यान क्याम्पसमा व्यवस्थित १ सय वेडको आइसोलेशन २ दिनमै निर्माण गरेपछि संक्रमितहरुलाई आइशोलेसनमा भर्ना गरियो । दार्मा गाउपालिकामा रहेका संक्रमितहरुलाई भने चौर जहारी अस्पतालमा भर्ना गरिएको छ ।सरकारले लकडाउन खुकुलो बनाएसंगै संक्रमितहरु थपिन सक्ने अवस्था आएपछि स्थानीय तहहरुले समेत नेपाली सेनाको सहयोगमा आइशोलेशन वेड निर्माण गर्न थालेका छन् । जिल्लामा सवै भन्दा वढि कोरोना संक्रममित भएको बनगाड कुपिण्डे नगरपालिकामा समेत १ सय वेडको आइशोलेसन बनाउने घोषणा बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार पुनले गरिसक्नु भएको छ ।
अहिले यो संगै नेपाली सेनाको सक्रियतामा शारदा नगरपालिका भित्र सल्यान क्याम्पस सल्यानमा १०० बेडको र कपुरकोट गाउँपालिकाको किमुचौरमा ५० बेडको आइशोलेसन नेपाली सेनाको श्रम शक्ति परिचालन गरेर निर्माण गरिएको छ ।

कपुरकोट गाउँपालिकाको किमुचौरमा ५० वेडको आइशोलेशन स्थलमा शौचालय निर्माण गर्दै नेपाली सेना

भने बनगाड कुपिण्डे नगरपालिकामा निकट भविष्यमै १०० बेडको आइसोलेसन निर्माण गर्ने तयारी भइरहेको सवुज गणले जानकारी दिएको छ ।   सवै आइशोलेशनहरुलाई स्रोत साधनले भ्याए सम्म व्यवस्थित गरिएको छ। नेपाली सेनाले आफुहरुसंग रहेको दक्ष जनशक्तिको प्रयोग गरी व्यवस्थित आइशोलेशन निर्माण गरेको छ ।

किमुचौरमा निर्माण गरिएको आइशोलेशन

मंगलबार मात्रै सल्यान क्याम्पसको आइसोलेशनमा रहेका ४१ जना कोरनो संक्रमितहरु कोरोना जितेर घर फकिएका छन् । सल्यान क्याम्पसको आइशोलेशनमा वस्दा कुनै पनि समस्या नरहेको र व्यवस्थित आइशोलेसन भएकोले पनि कारोना जित्न सफल भएको बताएका छन् ।
यो संगै नेपाली सेनाले त्रिवेणी गाउँपालिका १ सागिना टोलका ४० बर्षिय एक पुरुष गत जेठ २२ गते होम क्वारेन्टाइनमा वसेकोमा जेठ २५ गते मृत्यु भएपछि उहाँको स्वाव संकलन गरी परीक्षणका लागि पठाउने कार्यमा सहयोग गरेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय सल्यानले उपलव्ध गराएको सवारी साधन मार्फत शवको व्यवस्थापनमा आफनो भुमिका निर्वाह गरेको छ ।

त्रिवेणी गाउँपालिका १ सागिना टोलका ४० बर्षिय एक पुरुषको शव व्यवस्थापन गर्दै नेपाली सेना
त्रिवेणी गाउँपालिका १ सागिना टोलका ४० बर्षिय एक पुरुषको शव व्यवस्थापन गर्दै नेपाली सेना
त्रिवेणी गाउँपालिका १ सागिना टोलका ४० बर्षिय एक पुरुषको शव व्यवस्थापन गर्दै नेपाली सेना

प्रकाशित मिति: ४ असार २०७७, बिहीबार २१:५९