वहुगुणी बेसार, वैज्ञानिकले पत्ता लगाएको ‘कपुरकोट हलेदो १’ र ‘कपुरकोट हलेदो २’ देशभर विस्तार

सल्यान– तरकारीमा मसलाको रुपमा प्रयोग हुने बेसार औषधिय गुणले भरिपूर्ण मानिन्छ । कृषि विज्ञहरुका अनुसार यसको बोट र गानोलाई हलेदो भनिन्छ भने धुलोलाई बेसार भनिन्छ । वनस्पती वैज्ञानिकहरुका अनुसार बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीय काम गरेको हुन्छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ । पछिल्लो समय बेसारको उन्नत जात पत्ता लगाउने कार्यमा कृषि वैज्ञानिकहरु लागिपरेका छन् भने यसको खेती विस्तार पनि भइरहेको छ ।

डाक्टर समिद अहमद

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत देशको एकमात्र अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोटले बेसारको दुई वटा नयाँ जात पत्ता लगाएको छ । कपुरकोट हलेदो ‘१’ २०७१।०७२ मा सिफारिस भएपछि त्यसयताको लामो मेहनत पश्चात २०७४।०७५ मा बेसारको नयाँ जात कपुरकोट हलेदो २ पत्ता लागेको हो । कपुरकोट हलेदो ‘१’ नेपालको मध्य पहाड क्षेत्रमा खेती गर्नका लागि सिफारिस गरिएको छ ।

नेपालको तराई र मध्य पहाडी भेगको समुन्द्री सतह देखि १६०० मीटर उचाइ सम्म यस जातको बेसार खेती गर्न सकिने अदुवा वाली अनुसन्धान कार्यक्रम कपुरकोटका प्रमुख डाक्टर समिद अहमदले  जानकारि दिए ।

उनका अनुसार ‘कपुरकोट हलेदो २’ को बोटको उचाईः ४२.८ से.मी सम्म हुने गर्दछ । यस जातको बेसारको पात अण्डाकार हुन्छ भने एउटा बोटमा ६ देखी ८ वटा सम्म पात हुने गर्दछन् । पातको लम्वाई ४३ से.मी, चौडाई १७ से.मी, गानो पिडालु आकार र धुलो फिक्का पहेलो हुन्छ । वाली तयार हुने समय (२४५–२६० दिन) रहेको छ भने एउटा गानोको तौल ४००–५५० ग्राम सम्म हुन्छ । प्रतिहेक्टर सरदर उत्पादन ३४.०५ मेट्रिक रहेको छ । र उत्पादन क्षमता २५–५५ मेट्रिक टनप्रति हेक्टर हुन्छ ।


प्रशोधन विशेषताबारे जानकारी दिँदै डाक्टर समिद अहमदले भने, ‘कपुरकोट हलेदो २ को बेसार धुलो बन्ने क्षमता ताजा तौलमा १६ प्रतिशत र सुकेको तौलको आधारमा ९४ प्रतिशतसम्म रहेको छ, यसमा बास्नादार तेलको मात्रा ३ दशमलव ७५ प्रतिशत हुन्छ ।’ अन्य जातको तुलनामा राम्रो उत्पादन हुने, बेसार धुलो बन्ने क्षमता धेरै भएकोले यसलाई व्यसायिक कृषकहरुले प्राथमिकता दिएर बढी रुचाएको पाइएको उनले बताए ।


कपुरकोट हलेदो ‘१’ को उत्पादन क्षमता २७.८३ मे.ट. प्रतिहेक्टर छ भने बेसार बन्ने क्षमता १३.८ प्रतिशत छ । डा. अहमदका अनुसार यस जातको हलेदोमा वास्नादार तेलको मात्रा ७.५ प्रतिशत छ ।

अनुसन्धान कार्यक्रमले १५ सय किलो विउ उत्पादन ग¥यो

विउ उत्पादनमा विशेष जोड दिएको अदुवालाली अनुसन्धान कार्यक्रम कपुरकोटले चालु आर्थिक वर्षमा एक हजार पाँच सय किलो नयाँ जातको हलेदोको विउ उत्पादन गरेर विभिन्न जिल्लामा पुर्याएको छ । यय वर्ष कपुरकोट हलेदो १ को विउ ८ सय किलो उत्पादन गरिएको अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोटका सूचना अधिकारि (प्राविधिक अधिकृत) खेमराज शर्माले जानकारि दिए । उनका अनुसार उत्पादित हलेदोको विउ मध्ये १ सय किलो कृषि ज्ञान केन्द्र दाङ, १ सय किलो धादिङ, १ सय किलो गुल्मी, १ सय किलो अर्घाखाँचीमा र १५० किलो दाङ तथा सल्यानका किसानलाई विक्रि गरिएको छ ।


यस्तै यस वर्ष अनुसन्धान कार्यक्रमले कपुरकोट हलेदो २ को विउ ७ सय किलो उत्पादन भएको छ । जस मध्ये उष्ण प्रदेशीय वागवाणी विकास केन्द्र नुवाकोटमा २ सय किलो, धादिङमा १५० किलो र दाङमा ५० किलो वितरण गरिएको सूचना अधिकारी शर्माले जानकारि दिए ।

रुघाखोकी देखी टनसिललाई निको बनाउने वहुगुणि बेसार

हलेदो (बेसार) फुल फुल्ने तर फल नलाग्ने भएको हुँदा गानोबाट नै प्रशारण गरिन्छ । पहेँलो रंग बनाउन, मसलाको रुपमा र औषधिको रुपमा बेसारको प्रयोग हुने गरेको छ । अदुवावाली अनुसन्धान कार्यक्रमका वैज्ञानिकहरुका अनुसार विभिन्न रोग र उपचारको लागि बेसारको रुपमा प्रयोग गरिन्छ । सूचना अधिकारि शर्मा भन्छन्, आधिकारिक रुपमा पुष्टी हुन नसकेको होला तर परमपरागत रुपमा गाउँघरतीर रुघाखोकी तथा घाउ भएमा औषधिको रुपमा बेसारको प्रयोग भएको पाइन्छ ।

रुघाखोकीमा ः एक चिम्टी बेसार तातो पानीसंग विहान बेलुकी पिउने गरेमा दुई तीन दिनमै रुघाखोकी निको हुन्छ ।
घाउ खटिरामाः कुनै पनि घाउ खटीरा वा काटेको ठाउँमा बेसारको धुलो तोरीको तेलमा पकाएर लगाउँदा ठिक हुन्छ ।
शरिर सुन्नीएकोमा वा मर्किएमाः ५ ग्राम बेसारको धुलो दुधमा पकाएर विहान बेलुका दुई चार दिन सेवन गर्नाले निको हुन्छ ।
टनसिल भएमाः बेसार र मह फिटेर बेलुका सुत्ने बेला टनसील बढेकोमा र टन्सील बनेकोमा लगाएमा समस्या समाधान हुन्छ ।

सल्यानमा तीनवटा बेसार पकेट क्षेत्र, ३ सय ५० हेक्टरमा खेती

कृषि अनुसन्धान परिषद्का अनुसार नेपालको करिव ७ हजार ३ सय हेक्टर क्षेत्रफलमा बेसारको खेती गर्ने गरिएको छ । जसमा एक वर्षमा ७१ हजार ५०० मे.ट उत्पादन हुनेगरेको छ ।  सल्यानमा ३ वटा बेसार पकेट क्षेत्र रहेको र किसानहरुले सामुहिक रुपमा खेती गरिरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । शारदा नगरपालिकाको मालनेटा, कालिमाटी गाउँपालिका र बागचौर नगरपालिकामा बेसार पकेट क्षेत्र तोकिएको कार्यालयका सूचना अधिकारि रेशम कुमार बस्नेतले जानकारि दिए ।


जिल्लामा ३ सय ५० हेक्टर भन्दा बढी क्षेत्रफलमा बेसार खेती हुँदै आएको छ । बस्नेतका अनुसार गत आर्थिक वर्ष २०७५।०७६ मा ३ सय २० हेक्टर क्षेत्रफलमा बेसार खेती भएको थियो । जसमा ३ हजार १४ मेट्रिकटन उत्पादन भएको सूचना अधिकारि बस्नेतले जनाए । यस वर्ष ३ सय ५० हेक्टर भन्दा बढी क्षेत्रफलमा बेसार खेती भएको उनको अनुमान छ । उत्पादीत बेसार जिल्ला भित्रै पनि खपत हुने गरेको छ भने छिमेकी जिल्ला दाङ, रोल्पा, सुर्खेतमा पनि जाने गरेको छ ।

जिल्लाबाट बेसारको विउ पनि जिल्ला वाहिर जाने गरेको छ । आफ्नो पकेट क्षेत्रबाट ३ सय ७७ क्वीन्टल बेसारको विउ यस वर्ष रोल्पा गएको माल्नेटा बेसार पकेट संचालन समितिका अध्यक्ष केन्द्र बहादुर हमालले जानकारि दिए ।

प्रकाशित मिति: १४ असार २०७७, आईतवार १५:२२