
रमेश कुमार वली
सल्यान, १ साउन . सल्यानमा एक बैंकको सटरमा राखिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ । बागचौर नगरपालिका २ बागचौरमा रहेको मुक्तीनाथ विकास बैंकमा राखिएको बाल्टिन बम विहीबार नेपाली सेनाले निस्क्रिय पारेको हो ।
नेपाली सेनाको सवुज गण सिमखर्कबाट गएको सह सेनानी सन्देश थापाको बम डिस्पोजल टोलीले विहबार दिउसो १ बजेर २४ मिनेटमा बम निस्क्रिय पारेको हो । बैंकमा बम रहेको हल्ला फैलिएपछि प्रहरीले सो ठाउलाई नियन्त्रणमा लिई शिलबन्दी गरेको थियो ।
बमसंगै जनपरिषद सल्यानको नाममा राखिएको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरुसंग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाइ ऋण तिर्न बाध्य पारेको लगायतका कुराहरु लेखिएको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटनाको कसैले जिम्मेवारी नलिएपनि प्रतिवन्धित नेकपा माओवादीले राखेको हुन सक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको र बम राख्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले साउने संक्रान्तिको अवसरमा सार्वजनिक विदा दिइएकोले वैंक बन्द रहेको थियो । कार्यालयको आन्तिरीक कामका लागि कर्मचारी कार्यालयमा जाने क्रममा बम जस्तो शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए
प्रकाशित मिति: १ श्रावण २०७७, बिहीबार १६:५३