कभर खबर

  • २० श्रावण २०७७, मंगलवार २०:१०

प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव : देशभर २१ दिने ‘स्ट्रीक लकडाउन’ गरौं

काठमाडौं २०, साउन ।विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २१ दिन लामो कडा स्वरुपको लकडाउन गर्न सुझाव दिएका छन् ।

कोरोनाभाइरस संक्रमित धमाधम थपिन थालेपछि स्वास्थ्यविद्हरुसंग प्रधानमन्त्री ओलीले गरेको परामर्शका क्रममा २१ दिनको लकडाउन, धेरै संक्रमित र जोखिम रहेका स्थानमा क्रफ्र्यु तथा संक्रमित भेटिएका स्थानलाई तत्काल शिल गर्न सुझाव दिएका हुन् ।

प्रधानमन्त्री ओली संगको छलफलमा विज्ञहरुले स्वास्थ्य क्षेत्रको क्षमता बढाउन पनि माग गरेका छन् ।

छलफलमा केहीले चाहिँ अवस्थालाई सामान्यकरण गर्दै आवश्यकता हेरी ठाउँ विशेषमा लकडाउन गर्न सुझाएका छन् ।

सवैको सुझाव सुनिसकेपछि प्रधानमन्त्री केपी ओलीले एमसीसी, स्वास्थ्य मन्त्रालयसँग समेत छलफल गरेर लकडाउनको मोडालिटी तयार गरिने बताएका थिए । उनले नेपाल र नेपाली कोरोनाको संकटमात्र नभएर विभिन्न संकटहरु पार गर्दै आएकाले यो संकटलाई पनि पार लगाउने विश्वास व्यक्त गरेका थिए ।

बैठकमा सहभागी नेपाली कांग्रेसका सभापति देउवाले कोरोना नियन्त्रणका क्रममा हालसम्म भएका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्दै स्वास्थ सामग्री खरिदमा भएको अनियमिततामा संलग्नलाई कारबाही गर्न सुझाएका थिए ।

यस्तै आरडीटी परिक्षण स्थायी रुपले अन्त्य गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउन, मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र व्यवस्थापन गर्नुपर्ने, स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध गर्नुपर्नेलगायतका ७ बुँदे सुझाव पनि बैठकमा देउवाले राखेका थिए ।

प्रकाशित मिति: २० श्रावण २०७७, मंगलवार २०:१०