‘सबैको सद्भाव, हौसला र आफ्नो आत्मबलले गर्दा एघार दिनमै कोरोनालाई जित्न सफल भएँ’

सल्यान- सल्यानको कपुरकोटमा कोरोना भाइरस संक्रमण पुष्टी भएको ११ दिनमै उक्त भाइरसलाई जीतेर एक स्वास्थयकर्मी घर फर्किएकी छिन् । धनवाङ स्वास्थय चौकी कपुरकोटमा कार्यरत स्वास्थ्यकर्मी सुजाता भण्डारी ११ दिनको आइसोलेसन बसाई पछी आइतबार घर फर्किएकी हुन् ।

उनलाई थप एक हप्ता होम आइसोलेसनमा बस्नेगरी कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, स्वास्थ्य संयोजक अरुण दाहाल, कोभिड–१९ फोकल पर्सन देवेन्द्र कुमार सेन, प्रहरी चौकी कपुरकोटका इन्चार्ज जनक बहादुर भण्डारी लगाएतले ने.रा.मा.वि. किमुचौर स्थित आइसोलेसन सेन्टरमा पुगेर बधाई दिँदै विदाई गरेका हुन् । सो अवसरमा गाउँपालिका अध्यक्ष सेनले कोरोना नियन्त्रण, रोकथाममा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिँदै समाजका हरेक नागरिक सचेत रहनुपर्ने तर त्रसित नहुन आग्रह गरे ।

कोरोना जितेर निकै खुसि देखिएकी स्वास्थयकर्मी भण्डारीले गाउँपालिका तथा आफ्नो स्याहारमा संलग्न स्वास्थ्यकर्मी सबैको सद्भाव, हौसला र आफ्नो आत्मबलले गर्दा कोरोनाबाट मुक्ति पाएको बताइन् । उनले आफुमा कुनै पनि लक्षण र स्वास्थ्य समस्या नदेखिएको सुनाइन् । उनले भनिन्, ‘रिपोर्ट पोजेटीभ आएपछी त मं शुरुमा चिन्तीत थिएँ, तर मलाई कुनै पनि स्वास्थ्य समस्या र लक्षण थिएन । सबैको मायाँ, सहयोग र बढ्दै गएको आत्मबलका कारण मैले कोरोनालाई जित्न सकेँ ।’


गत भदौ १८ गते कोरोना भाइरसको संक्रमण देखिएपछी स्वास्थ्यकर्मी भण्डारी आइसोलेसनमा बसेकी िथिइन् । यसविचमा कपुरकोट क्षेत्र सिल गरी उनको सम्पर्कमा रहेका स्वास्थ्यकर्मी तथा समुदायस्तरका ११५ जनाको पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटीभ आएको थियो । साथै यहि भदौ २५ मा संक्रमित स्वास्थ्यकर्मी भण्डारी सहित २० जनाको स्वाब परीक्षण गर्दा शनिबार सबैको रिपोर्ट नेगेटीभ आएकोले उनलाई आइसोलेसनबाट विदाई गरिएको स्वास्थ्य संयोजक अरुण दाहालले जनाए ।

प्रकाशित मिति: २८ भाद्र २०७७, आईतवार १३:४२