छुट्टाछुट्टै पत्रकारिता पुरस्कारबाट सल्यानका तीन पत्रकार सम्मानित

सल्यान

नेपाल पत्रकार महासंघ सल्यानले जिल्लामा क्रियाशील तीनजना पत्रकारलाई छुट्टाछुट्टै पुरस्कारबाट सम्मानित गरेको छ । पुरस्कृत हुनेमा नयाँपत्रिका जिल्ला संवाददाता मिना बुढाथोकी, कान्तिपुर जिल्ला संवाददाता विप्लव महर्जन र रेडियो नेपालका जिल्ला संवाददाता दीपक शर्मा छन् ।

महासंघ जिल्ला शाखाले बुढाथोकीलाई हरिशरण आचार्य संस्थापक पत्रकारिता पुरस्कार प्रदान गरेको हो । आचार्य जिल्ला शाखाका संस्थापक अध्यक्ष हुनुहुन्छ । यस्तै शाखाले अजिता स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका जिल्ला संवाददाता दीपक शर्मालाई प्रदान गरेको छ । शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले दिवंगत छोरी अजिता को स्मृतिमा उक्त पुरस्कार स्थापना गर्नुभएको हो । दुवै पुरस्कारको राशि प्रमाणपत्र र पाँच हजार रुपैयाँ रहेको छ । दुवै पुरस्कारको लागि ५०/५० हजारको अक्षयकोष स्थापना गरिएको थियो ।

यस्तै सालिकराम शर्मा स्मृती पत्रकारिता पुरस्कार कान्तिपुर जिल्ला संवाददाता विप्लव महर्जनलाई प्रदान गरिएको छ । ग्रामीण विकास सञ्चार केन्द्रले पत्रकार महासंघ सल्यानका पूर्व अध्यक्ष सालिकराम शर्माको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेको थियो । पुरस्कारको राशि तीनहजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । पुरस्कारको लागि १५ हजारको अक्षयकोष स्थापना गरिएको थियो । तीनैजनालाई साधारण सभाको अवसरमा कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रकाशित मिति: १७ माघ २०७७, शनिबार १४:०४