
एजेन्सी । गएराति स्टार्सवर्गसँगको जितअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन् (पीएसजी)ले लियोनल मेस्सीसहित यो सिजन अनुबन्ध भएका खेलाडीलाई समर्थकसामू सार्वजनिक गरेको छ ।
मेस्सीले रंगशालामा बसेर पीएसजीको लिग वानमा लगातार दोस्रो जित हेरे । बार्सिलोनाका पूर्व सुपरस्टार मेस्सीसहित यो सिजन सर्जियो रामोस, इटलीका गोलरक्षक जियानलुगी डोनारुम्मा, नेदरल्याण्ड्सका जर्जिन्हो विज्नाल्दम र मोनाकोका अचरफ हाकिमी यो सिजन पीएसजी पुगेका हुन् ।
यीमध्ये विज्नाल्दम र हाकिमीलाई टिममा राखिएको थियो भने तीनजनाले रंगशालामा बसेर खेल हेरे । गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका मेस्सी त्यसयता विदामा थिए । पर्याप्त प्रशिक्षण नभएकै कारण उनले डेब्यू गर्न हतारो नगरेको बताइएको छ ।
लगातार दोस्रो जित निकाल्ने क्रममा स्टार्सवर्गलाई ४–२ गोलले हराएको पीएसजीका लागि माउरो इकार्डी, केलियन एम्बाप्पे, जुलियन ड्रक्सलर र पाउलो सारावियाले गोल गरेका हुन् । खेलको अन्त्यतिर स्टार्सवर्ग १० खेलाडीमा समेटिएको थियो ।
ला लिगामा रियलको विजयी शुरुआत, बार्सिलोनाको खेल आज
हिजोदेखि सुरु भएको स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी शुरुआत गरेको छ । लिगको पहिलो खेलमा अलाभेसमाथि रियलले ४-१ गेलको अवे जित निकाल्यो ।
रियलको जितमा करिम बेन्जिमाले २ गोल गरे । कार्लो एन्सेलोटीले गत सिजन टोटनह्याममा लोनमा विताएर फर्किएका ग्यारेथ बेललाई सुरुआती ११ मा राखेका थिए ।
सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । इडेन हाजार्डको पासमा बेन्जिमाले दोस्रो हाफको सुरुआतमै अग्रता दिलाएपछि ५६ औं मिनेटमा नाचोले तथा ६२ औं मिनेटमा बेन्जिमाले गोल गरे ।
६५ औं मिनेटमा पेनाल्टीमार्फत अलाभेसले १ गोल फर्कायो । भिनिसियस जुनियरले खेलको अन्त्यतिर गोल गरी ४–१ को जित निश्चित गरे ।
बार्यन म्युनिखबाट फ्रि–ट्रान्सफरमा मड्रिड आएका स्वीस डिफेण्डर डेभिड अलाबाले रियलका लागि डेब्यू गरे । भिनिसियसको गोलका लागि उनैले बल उपलब्ध गराएका थिए ।
लियोनल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाले आज पहिलो खेल खेल्दैछ । हिजो आयोजित पत्रकार सम्मेलनमा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबमा मेस्सीको स्थान र महत्व सदैव रहने भन्दै विगतलाई सम्झिएर वर्तमान खराव बनाउन नहुने बताइसकेका छन् ।
१७ सिजनपछि बार्सिलोनाले मेस्सीविना ला लिगा सुरु गर्दा खेलाडीको मनोविज्ञान र मनस्थितिमा पनि असर पर्नसक्ने आंकलन गरिएको छ । तर, प्रशिक्षक कोम्यानले मेस्सीविना ५ साता प्रशिक्षण गरिएको र सन्तुलित टिम निर्माण भइसकेको दावी गरेका छन् ।
बर्सिलोनाले नोउक्याम्पमा आज राती सवा ११ बजेदेखि हुने रियल सोसिडाडसँगको खेलबाट ला लिगा सुरुआत गर्नेछ । गत सिजन एट्लेटिको मड्रिडले जितेको लिगमा बार्सिलोना तेस्रो भएको थियो । प्रशिक्षक कोम्यानले बार्सिलोना ला लिगा मात्र होइन, च्याम्पियन्स लिग जित्ने बलियो टोली भइसकेको दावी गरे ।
प्रकाशित मिति: ३१ श्रावण २०७८, आईतवार ०८:५३