
सल्यान, २८ माघ ।
कालिमाटी गाउँपालिका स्तरिय पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रमका वक्तारुले खेलको महत्वबारे चर्चा गरेका छन् । कालिमाटी, ३ स्थित शारदा जनकल्याण माविमा शनिबार उद्घाटन भएको प्रतियोगितामा वक्ताहरुले व्यक्तिलाई असल नैतीकता सिकाउनका लागि खेलको महत्व रहेको धारणा व्यक्त गरे । कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले स्वस्थ र अनुशासित जनशक्ति निर्माणका लागि आफुहरुले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
उद्घाटन कार्यक्रममा पालिकाका जनप्रतिनिधी, क्रियाशिल स्थानीय राजनीतिक दल, शिक्षक संगठनका प्रमुख तथा प्रतिनिधी, कर्मचारी लगाएतको सहभागिता थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले खेलका नियमहरुलाई जिवनका हरेक पक्षमा अंगाल्न सक्यो भने सफल जीवन जिउन सकिने बताएका थिए ।
कालिमाटी गाउँपालिका स्तरिय पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तरगत पाँच वटा विधामा प्रतिष्पर्धा हुने शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख भरत कुमार चन्दले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पालिकाभित्रका नौ वटा माध्यमिक विद्यालयहरुको सहभागिता छ । निमावि स्तरका विद्यार्थीका लागि गाउँपालिकाले विभिन्न अतिरिक्त क्रियाकलाप अन्तरगतका कार्यक्रमहरु मध्येखेलकुदलाई पनि समेटेको उनले बताए ।
आगामी फागुन १ गते सम्म सञ्चालन हुने प्रतियोगिताबाट उत्कृष्ट खेलाडिलाई जिल्ला स्तरिय प्रतियोगितामा पनि समावेश गराई प्रदेश तथा केन्द्रस्तरका प्रतियोगितामा पुर्याउने लक्ष्य रहेको छ । रनिङशिल्डमा सहभागि खेलाडिका लागि भनेर गाउँपालिकाले सम्बन्धीत विद्यालय मार्फत खाना, आवासको पनि व्यवस्थापन गरेको छ ।
प्रकाशित मिति: २८ माघ २०७९, शनिबार १९:५५