च्याम्पियन्स लिग फुटबल : पिएसजी र लिभरपुलको हार !

१९ वर्षीय युवा स्टार अर्लिङ हल्यान्ड चम्किँदा जर्मन क्लब बोरुसिया डर्टमुन्डले युरोपियन च्याम्पियन लिग फुटबलमा अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा प्रतियोगिताकै एक प्रमुख उपाधि दाबेदार टिम फ्रेन्च क्लब पिएसजीलाई हराएको छ ।
नेपाली समयअनुसार बुधबार बिहान भएको होम म्याचमा डर्टमुन्डले पाहुना टोली पिएसजीलाई २–१ को हार चखाएको हो । डर्टमुन्डको जितमा यसै जनवरी सिजनमा अनुबन्ध भएका १९ वर्षका नर्वेजियन युवा फरवार्ड हल्यान्ड नायक बने । उनले २ वटै गोल दोस्रो हाफमा गरेका थिए ।
यस्तै गत सिजनको च्याम्पियन इंग्लिस क्लब लिभरपुल जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा पराजित भएको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको होम म्याचमा एथ्लेटिकोले साबिक विजेता तथा यो सिजनको समेत प्रमुख दाबेदार रहेको लिभरपुललाई १–० ले स्तब्ध बनायो ।
एथ्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिसानो रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि खेल सुरु भएको चौथो मिनेटमै साउलले बक्स भित्रबाट हलुका टचमा गोल गरेका थिए ।
त्यसपछि खेलभरि नै दुवै पक्षबाट थप गोल नभएपछि खेल एथ्लेटिकोले १–० ले जित्यो । अब लिभरपुलमाथि आफ्नो घरमा हुने दोस्रो लेगबाट नतिजा उल्टाउनुपर्ने दबाब हुनेछ ।

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार ०३:५८