Trending

मेस्सीले बार्सिलोना छोडने पक्कापक्की, यस्तो भयो निर्णय

Triveni

नाउ क्याम्पमा १६ सिजन बिताएका लियोनल मेसीको नजरमा बार्सिलोना सबैथोक हो । बार्सिलोनाविनाको जीवन कल्पना पनि उनी गर्न सक्दैनन् । ‘बार्सिलोना नै पहिलो र अन्तिम क्लब हो,’ यस्तै भन्थे मेसीले कुनै समयमा, ‘मेरो करिअरको अन्त्य नाउ क्याम्पमा नै हुनेछ ।’ अहिले समय परिवर्तन भएको छ । समयसापेक्ष  आफूलाई पनि अपडेट गर्नुपर्छ भन्ने सोच र योजनाका साथ मेसी अब बार्सिलोना छाड्न तयार भएका छन् ।

यति वेला मेसीका समर्थकले यो समाचार पत्याउन सकेका छैनन् । बार्सिलोनाको सडकमा समर्थकले मेसीलाई क्लबले राख्ने वातावरण बनाउनुपर्ने र उनलाई अन्य क्लबमा स्थानान्तर गर्न नदिन दबाबसहित आन्दोलन सुरु गरेका छन् । बार्सिलोना सहरमा मध्यरातमै मेसीका समर्थकले आन्दोलन गरेका हुन् । सडकमा नाराबाजी भए पनि मेसीले अब बार्सिलोना छाड्ने पक्कापक्की गरेका छन् । उनले आफूलाई खेलाडी ट्रान्सफर विन्डोमा उपलब्ध भएको जनाएका छन् ।

उता व्यवस्थापन तथा नयाँ प्रशिक्षकले घुमाउरो रूपमा मेसीको योगदानकाे कदर हुने र सधैँ स्मरणीय रहने जनाइसकेका छन् । यसको अर्थ थियो, अब बार्सिलोनालाई मेसी पुग्यो । बार्सिलोनलाई नयाँ मेसी चाहिएको छ । अर्जेन्टिनी मेसीबाट जति फाइदा लिनु थियो, बार्सिलोनाले लिइसकेको छ ।

गत शुक्रबार मेसीले नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यानसँग वार्ता गरेका थिए । सो वार्ता सकारात्मक हुने विश्वास थियो । धेरैले विश्वास गरेका थिए, रोनाल्डले मेसीलाई बार्सिलोनामा राख्ने वातावरण बनाउनेछन् । किनकि दुःखी बनिरहेका मेसीलाई फकाउन सक्ने एक मात्र व्यक्ति थिए प्रशिक्षक । खेलाडीले प्रशिक्षककाे निर्देशन मान्छन् । यस्तै सोच सबैले लिएका थिए । तर, मेसी र रोनाल्डबीचको वार्ता राम्रो भएन । ३४ वर्षीय मेसीलाई पाका खेलाडीका रूपमा प्रशिक्षक रोनाल्डले विश्लेषण गरे ।

प्रशिक्षक रोनाल्डले भनेका थिए, ‘मेसीको इतिहास बार्सिलोनामा सधैँ उच्च र माथिल्लो स्तरमै रहनेछ, कसैले पनि यो रेकर्ड तोडन सक्दैनन, अब हामी नयाँ बाटोमा लाग्नुपर्छ ।’ रोनाल्डले सुरुवात क्रममै भनेका थिए, नयाँ युवा खेलाडीका साथ बार्सिलोनालाई अगाडि लानुपर्छ । पुराना र काम नलाग्ने (एक्स्पायर) खेलाडी आवश्यकता नरहेको भनी उनले टिप्पणी मिडियासमक्ष दिएका थिए ।

यसबाटै के स्पष्ट भइसकेको थियो भने प्रशिक्षक रोनाल्डले पुराना खेलाडीका साथ मैदानमा उत्रने योजना बनाएका थिएनन् । उनले पुराना खेलाडीलाई बिस्तारै आफ्नो बाटो लाग्न निर्देशन दिए । त्यसपछि मेसीले अन्तिम विकल्पका रूपमा खेलाडी ट्रान्सफर विन्डोको समयमा सहजीकरण गर्न बार्सिलोनालाई अनुरोध गरेका छन् । उनले आफ्ना एजेन्ट तथा पितालाई खेलाडी किनबेचको समयमा समावेश गर्न भनेका छन् ।

मेसीले बार्सिलोनालाई एक ड्राफट पठाउँदै सम्झौताअनुसार सहज पार्न भनेका छन् । २१ जुन २०१७ सम्म मेसी र बार्सिलोनाबीच सम्झौता बाँकी छ । तर, मेसीले बार्सिलोनासँग यस्तो सम्झौता गरेका छन्, उनले चाहे कुनै पनि समयमा क्लब छाड्न सक्छन्, यसमा कुनै बाधा हुनेछैन । अहिले मेसीले त्यही सम्झौताको सदुपयोग गरेको जनाइएको छ । तर, रोनाल्ड मात्र होइन, मेसी यसअघिका प्रशिक्षकसँग पनि त्यति खुसी थिएनन् । साथै व्यवस्थापन र मेसीबीचको दूरी पनि बढेको थियो । कमजोर व्यवस्थापन र एकल निर्णयले बार्सिलोनाले पछिल्लो समयमा राम्रो नतिजा निकाल्न नसकेको मेसीको भनाइ थियो ।

बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ ले पराजित हुनुको पछाडि यिनै कारण भएको उनले जनाए । च्याम्पियन्स लिगमा व्यहोरेको अप्रत्यासित नतिजापछि मेसी भित्री रूपमै दुःखी थिए । उनले यसको समीक्षा पनि गर्न चाहेनन् । प्रशिक्षक स्टेटिएनको बर्खास्तीमा पनि केही बोलेनन् । बार्सिलोना १२ सिजनपछि पहिलोपटक उपाधिविहीन हुँदा मेसी दुःख हुनु स्वाभाविक नै थियो ।

प्रत्येक सिजन कुनै न कुनै उपाधि हात पार्ने खेलाडी जब उपाधिविहीन हुन्छन्, त्योभन्दा ठूलो पीडा अरू हुन नै सक्दैन । खेलाडी भनेकै उपाधिका लागि खेल्छन् । यसपटक बार्सिलोना स्पेनिस कपको फाइनलमा पुगेको थियो । जहाँ भ्यालेन्सियासँग बार्सिलोन पराजित भयो । यद्यपि पाका उमेरमा मेसी उपाधि जित्न चाहन्छन् । अब यो सपना अन्य क्लबबाट उनले देखेका छन् । उनीभन्दा एक वर्ष मात्र जेठो क्रिस्टियानो रोनाल्डो अहिले पनि युभेन्टसलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान गरिरहेका छन् ।

इच्छाशक्ति र फिटनेस भए खेलाडीको उमेर बाधक नहुने रोनाल्डोले प्रमाणित गरेका छन् । अब मेसी कहाँ जान्छन् भन्ने प्रश्न छ ? यदि मेसी स्वयंले चाहे उनी म्यानचेस्टर सिटी जान सक्छन् । क्लबसँग गरेको सम्झौतामा यस्तो बुँदा उल्लेखित हुन्छ कि खेलाडी आफूले चाहेको क्लबमै सम्झौता गर्न सक्छन् । यही प्रावधानअनुरूप मेसी सिटी जान सक्छन् ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलासँगको सम्बन्ध उनको निकै राम्रो छ । पेपकै समयमै बार्सिलोनाले अन्तिमपटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । प्रशिक्षक पेपले पनि दुई वर्षअघि मेसीले चाहे सिटी आउन सक्ने बताएका थिए । यसका साथै इन्टरमिलान, पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड तथा युभेन्टससमेत मेसी भित्र्याउन इच्छुक छन् ।

बार्सिलोनाकै महान् खेलाडीका रूपमा रहेका मेसीले नाउ क्याम्पमा १६ वर्ष बिताउँदा कीर्तिमानी रूपमा ३४ उपाधि जितेका थिए । यसक्रममा १० स्पेनिस ला लिगा, चारपटक युरोपियन च्याम्पियन्स लिग, तीनपटक क्लब फिफा विश्वकप तथा ६ पटक स्पेनिस कप उनले जिते ।

वर्तमान समयमै महँगा खेलाडीमा पर्ने मेसी १३ वर्ष हुँदा बार्सिलोनामा आबद्ध भएका थिए । २००४ मा डेब्यु गरेका मेसीले बार्सिलोनाबाट कीर्तिमानी रूपमै ६ पटक बालोन डिअर उपाधि जितेका छन् ।

डाटामा लियोनल मेसी
– मेसीले बार्सिलोनाबाट ३४ उपाधि जितेका छन्
– बार्सिलोनाले पछिल्लो समय चार युरोपिनय च्याम्पियन्स ट्रफी जित्दा मेसी प्रमुख खेलाडी थिए
–स्पेनिस ला लिगामा रियल म्याड्रिडको दबदबा तोड्दै बार्सिलोनाले १० पटक स्पेनिस ला लिगा उपाधि जित्दा मेसी सर्वाधिक गोलकर्ता बने
– मेसीले बार्सिलोनाबाट ६ पटक बालोन डि अर उपाधि हात पारे
–मेसीले ६ पटक नै युरोपियन गोल्डेन सु पाए
– स्पेनिस ला लिगाको चर्चित एल क्लासिकोमा मेसीले रियल म्याड्रिडविरुद्ध २६ गोल गरेका छन्
– २०१२ को सिजनमा मेसीले क्लब र राष्ट्रबाट गरी एकै सिजनमा ९१ गोल गरे, अहिलेसम्म मेसीको यो रेकर्ड कसैले तोड्न सकेका छैनन्
–स्पेनिस ला लिगामा मेसीले ४४४ गोल गरेका छन्, यो आफैँमा कीर्तिमान हो
–मेसीले बार्सिलोनाबाट समग्रमा सबै प्रतियोगितामा गरी ६३४ गोल गरेका छन्
–स्पेनिस ला लिगामा मेसीको नाममा सर्वाधिक ३६ ह्याट्रिक समावेश छ
–मेसीले स्पेनिस ला लिगामा लगातार १० सिजन ४० भन्दा बढी गोल गरेका छन् ।

कहाँ जाने सम्भावना
म्यानचेस्टर सिटी        ६/४
इन्टर मिलान        ३/१
पिएसजी            ३/१
युभेन्टस            ४/१
म्यानचेस्टर युनाइटेड    १३ /२
अमेरिकन सकर लिग    १२ /१
लिभरपुल        १४ /१
लिड्स            २०/१
अर्जेन्टिनी क्लब    २५/१
बायर्न म्युनिख     ३५/१
चेल्सी            ५०/१
लाजियो        १००/१
न्युकास्टल        १००/१
नेपोली        १२५/१
रियल म्याड्रिड    १५०/१

(एजेन्सीको सहयोगमा)

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker