तीन वर्षमा सल्यानमा झन्डै छ सय बालबालिका कुपोषित

सल्यान ।

सल्यानका बालबालिकाहरूमा कुपोषणको दर बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को साउन देखि पुससम्म १ सय ३८ बालबालिकामा कुपोषण देखिएको छ । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार ११७ मध्यम शीघ्र र २१ बालबालिकामा कडा शीघ्र कुपोषित बालबालिका रहेका छन् । बाल विवाह, गरिबी, बेरोजगारी, कम उमेरमा बच्चा जन्माउनु, सन्तुलित खानपिनको अभाव, स्तनपानको कमी लगायतका कारण बच्चाहरूमा कुपोषण हुने स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए । 

आर्थिक वर्ष २०७६/७७ मा मध्यम कुपोषित १९४ र कडा कुपोषित २७ आर्थिक वर्ष २०७७ /२०७८  मा १९६ मध्यम र २५ कडा कुपोषित बालबालिका फेला परेका थिए ।  चालु आर्थिक वर्षमा ११७ मध्यम र २१ कडा गरी तीन वर्षको बिचमा ५ सय ८९ बालबालिका कुपोषित  फेला परेका छन् । चालु आर्थिक वर्ष सकिन अझै पाँच महिना बाँकी रहेकाले विगतका वर्षहरूमा भन्दा चालु आर्थिक वर्षमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्न सक्ने डिसीको भनाई छ । 

जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै जान थाले पछि १३ स्थानमा पोषण सुधार केन्द्र स्थापना गरिएको कार्यालयले जनाएको छ । कडा खालको कुपोषण देखिएका बालबालिकालाई एक महिनासम्म दैनिक २ प्याकेट खुवाउने गरी तयार पारिएको उपचारात्मक खानाको प्याकेट दिइन्छ । मध्यम खालको कुपोषण देखिएकालागि एक महिनासम्म प्रतिदिन एक प्याकेट उपचारात्मक खानाको प्याकेट  उपलब्ध गराइने सूचना अधिकारी डिसीले बताए । उनले भने ‘यसबाहेक घरको खाना पनि नियमित खुवाउनु पर्छ । एक महिनापछि सुधार पुनः जाँच गरेर सुधार भएमा उपचारात्मक खाना बन्द गरिन्छ । नभएका निगरानी वा खानाको मात्रा बढाइन्छ ।’ 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार बालबालिकाहरूको ९० प्रतिशत बौद्धिक विकास ५ वर्षमुनिकै उमेरमा भइसक्छ । अझ ८० प्रतिशत बौद्धिक विकास २ वर्षभित्रै भइसक्छ । यही उमेरमा बालबालिकाहरू कुपोषित भएका शारीरिकसँगै बौद्धिक विकासमा ठुलो असर पर्ने  स्वास्थ्यकर्मी बताउँछन् ।   कुपोषणकै कारण बालबालिकाहरू सुस्त मनस्थितिका समेत हुन सक्ने स्वास्थ्यकर्मीको भनाई छ 

प्रकाशित मिति: २ चैत्र २०७८, बुधबार २०:१३