
कभर खबर,–१६, पुस । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएको छ ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० को राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्नुभएको हो । काठमाडौंको दशरथ रंगशालासहित देशैभर विभिन्न कार्यक्रम गरी भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिएको छ ।
राष्ट्रपति भण्डारीले दिप ज्योति प्रज्वलन र भ्रमणवर्षको प्रतिक यति अनावरण गरेसंगै नेपाल भ्रमण बर्ष २०२० को औपचारिक शुभारम्भ भएको छ । सातै प्रदेशसहित काठमाडौंको दशरथ रंगशालामा भव्य रुपमा उद्घाटन गरिएको भ्रमणबर्षमा नेपालको संस्कृति झल्कने झाँकीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले राष्ट्रगानले रगंशाला गुञ्जाएमान बनाएका थिए । रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइएको थियो भने विभिन्न सङ्घसंस्थाले परेड गरेका थिए ।
भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको भन्दै यसलाई सबैले महाअभियानका रुपमा लिन आह्वान गर्नुभयो । राष्ट्रपति भण्डारीले नेपाल सांस्कृतिक तथा प्राकृतिक विविधताले सम्पन्न भएको भन्दै सबैखालका पर्यटकका आकर्षक गन्तव्य रहेको बताउनुभयो ।
भ्रमण बर्ष उद्घाटनका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले नेपाल संसारकै एक अद्धितिय प्राकृतिक सम्पदाको देश भएकाले संस्कृति र प्रकृतिका अनुपम सम्पदाहरूको अनुभव संगाल्नका लागिष् नेपाल आउन पर्यटकहरूलाई निम्तो दिनुभयो ।
काठमाडौंमा भ्रमण बर्षको भव्य शुभारम्भ हुदै गर्दा देशका विभिन्न स्थानमा पनि स्थानीय निकाय तथा सर्वसाधारणले यसको विविधि औपचारिक कार्यक्रमहरु गरी भ्रमण बर्ष शुभारम्भ गर्दै होष्टेमा हैस्य गरेका छन् । सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रस्थानबिन्दु मानेको र यसले नेपाली पर्यटनमा नयाँ बाटो र उज्यालोतर्फको मार्ग प्रसस्त गर्ने विश्वास लिएको छ ।
सन १९५१ देखि विदेशी पर्यटकका लागि नेपाल भ्रमणको बाटो खुल्ला गरेसंगै नेपालमा पर्यटकहरु आउन थालेका हुन् । पछिल्लो समय पर्यटन क्षेत्र नै नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार बन्दै गएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएर सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त लाग्न आह्वान गरेको छ ।
प्रकाशित मिति: १६ पुष २०७६, बुधबार २१:५८