सल्यानमा पहिलोपल्ट च्युरीको अर्गानिक घ्यू, २० लाख आम्दानी

कालिमाटीमा एक युवकले जिल्लामै पहिलोपल्ट च्युरीको अर्गानिक घ्यू उत्पादन शुरु गरेका छन् । कालिमाटी गाउँपालिका ४ खैरेनीका हिरामणी रानाले जंगलमा त्यसै खेर गैरहेको च्युरीको दाना प्रशोधन गरेर घ्यू निकाल्न शुरु गरेका हुन ।
हर्वल सावुन बनाउनका लागी प्रयोग हुने च्युरीको घ्यू बनाउन अहिले धमाधम प्रशोधनको काम भैरहेको उनले बताए ।

यस वर्ष १५ देखि २० लाख सम्मको च्युरीको अर्गानिक घ्यू बेच्ने लक्ष्य रहेको उनले बताए पाँच लाख रकममा स्थानियसँग ७० क्वीण्टल चिउरीको दाना खरिद गरेका रानाले आफुले प्रशोधन पछि उत्पादित घ्यू विक्रिका लागी सम्झौता समेत गरिसकेको बताए ।“उत्पादित घ्यू विक्रिका लागी सहकारी मार्फत हसना उद्योग हर्वल काठमाडौँसँग सम्झौता भैसकेको छ”–उनले भने “बजारको कुनै समस्या छैेन, जति पनि विक्रि हुन्छ ।” उनका अनुसार यो वर्षको लागी साढे २ सय रकममा सम्झौता गरिएको छ ।


कालिमाटी गाउँपालिकाका स्थानिय जंगलमा प्रशस्त मात्रामा चिउरी पाइन्छ । जंगलमा चिउरी प्रशस्त पाइने भएकाले कालिमाटीका स्थानियले मौरीपालनबाट समेत लाखौँ रकम आम्दानी गर्दै आएका छन् । जेठ महिनादेखि पाक्न शुरु गर्ने चिउरी रोपेको झण्डै २५ वर्षपछि फल्न शुरु गर्दछ । यो चट्टानी भुभागमा मात्रै राम्रोसँग फस्टाउने गरेको छ ।
स्थानिय सय बढिलाई रोजगारी


गाउँमा पहिलोपल्ट चिउरीको दाना विक्रि हुन लागेपछि स्थानिय १ सय बढि प्रत्यक्ष लाभान्वित बनेका छन् । चिउरीको दाना जंगलबाट ल्याएर विक्रि गरे वापत प्रतिव्यक्ति चार हजार देखि १० हजार सम्म आम्दानी गरेको स्थानिय कुवेर केसीले बताए ।
“यहाँ प्रशोधनको लागी चार जनाले रोजगारी पाएका छौँ” उनले भने “जंगलबाट चिउरीको दाना एक सय भन्दा बढिले यहाँ ल्याएर विक्रि गरेका छन् ।” “चिउरीको फल वेचेर पनि पैेसा कमाउन सकिएला भनेर कहिल्यै सोचेका थिएनौँ” उनले थपे “अहिले पैसा हातमै परेपछि भने दंग छौँ ।”

प्रकाशित मिति: २० पुष २०७६, आईतवार १५:३७