
काठमाडौं २६, पुस। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेकाे राजीनामा माग गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको हो । सभामुखमा उम्मेदवारी दिने निर्णय भएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको तर्फबाट उपसभुमुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने निर्णय गरेकाे बताउनु भएको छ ।
स्वास्थ्यका कारण प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन सकेनन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुम्बाहाम्फेसँग शुक्रबार भएको छलफलबारे बि्रफिङ गरेका थिए । नेकपाका अध्यक्षद्धयसँग भएको भेटमा तुम्बाहाम्फलेे आफूलाई सभामुख बनाउने निर्णय गरे मात्र उपसभामुखबाट राजीनामा दिने, नभए सदन सुचारु गरेर सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्ने अडान लिएकी थिइन् ।
यता सचिवालयले राजीनामा माग गरेका बेला उपसभामुख तम्बाहाम्फेले आइतबार बस्ने प्रतिनिधिसभा बैठक आफैंले सञ्चालन गर्ने भन्दै राजीनामा नदिने बताएकी छन् । उनले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने बताएकी छन् ।
प्रकाशित मिति: २६ पुष २०७६, शनिबार १९:१८