रुकुम पश्चिमको आठबीसकोटमा स्थानिय पाठ्यक्रम पढाई हुने

रुकुम पश्चिम–२४, माघ। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आगामी शैक्षिक सत्रदेखि थप अर्को विषय पढ्नुपर्ने भएको छ ।

नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर कार्यान्वयनको तयारी अन्तिम चरणमा रहेको जनाएको छ । नगरपालिकामा ७ बालशिक्षा सहित ५९ सामुदायिक विद्यालय रहेका छन । स्थानीय पाठ्यक्रम बनाउने अधिकार प्रयोग गर्दै नगरपालिकाले पाठ्यक्रम निर्माणलाई तीव्रता दिएको हो । गत जेठ पहिलो साता बसेको ३२ औं कार्यपालिका बैठकले स्थानीय पाठ्यक्रम बनाएर लागु गर्ने निर्णय गरेको थियो । यसको लागि ५० पूर्णाङ्कको पाठ्यक्रम बनाउने र चालु शैक्षिक सत्रदेखि लागू गर्ने भनिएको थियो । तर, त्यसको लागि तयारी नपुगेपछि १०० पूर्णांककै पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रदेखि पठनपाठन हुन लागेको नगर शिक्षा समितिको संयोजक एवं नगरप्रमुख गोर्खबहादुर केसीले बताउनुभयो ।

पटक–पटकको छलफल र सुझाव संकलनपछि पाठ्यक्रमलाई अन्तिम चरणमा पुर्याइएको उहाँले जानकारी दिनुभयो । विषय विशेषज्ञसँगको छलफल र जनप्रतिनिधि, शिक्षाविद्, शिक्षाप्रेमी, स्थानीय अगुवालगायतको सुझावका आधारमा पाठ्यक्रम तयार भइरहेको नगरपालिकाले जनाएको छ ।

पाठ्यक्रममा सैद्धान्तिक कम र व्यवहारिक कुरा बढी समावेश गरिएको र पाठ्यक्रममा खेती–किसानदेखि दिगो विकासका लक्ष्यहरू समावेश गरिएका शिक्षा युवा तथा खेलकुद शाखा सँयोजक थलविर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न २२ विषयवस्तुमा केन्द्रित रही पाठ्यक्रम तयार भइरहेको छ ।
नियमित पठनपाठनका अलावा जान्नैपर्ने कुरा सिकाउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागु गर्न लागिएको उहाँले बताउनुभयो । दिगो विकासका लक्ष्य, पूर्ण सरसफाइका ७ सूचक, कृषि तथा पशुपालन, वन, वातावरण तथा विपद् व्यवस्थापन, स्थानीय स्रोतसाधनमा आधारित व्यवसायबारे विद्यार्थीले अध्ययन गर्नुपर्ने संयोजक ओलीले जानकारी दिनुभयो ।

बालबालिकाको सिर्जनशीलता र नयाँ खोज, सदाचार, नैतिकता, नगरपालिकाको समृद्धि, विकास र पहिचानमा योगदान पुग्ने विषयवस्तु पनि पाठ्यक्रममा समावेश भएका छन । समाज नकारात्मकतातिर गइरहेका बेला सकारात्मक मार्गतिर विद्यार्थीलाई प्रेरित गर्न नयाँ पाठ्यक्रमले सघाउने विश्वास गरिएको छ ।
नितान्त नौलो अभ्यासमार्फत सबैलाई नगरको विकासमा जोड्ने प्रयास भएको नगर प्रमुख केसीको भनाई छ । पोषण तथा अर्गानिक खाना, स्वास्थ्य, शारीरिक तथा सरसफाइ, नैतिक शिक्षा, सामाजिक मूल्य–मान्यता, असल व्यवहार, सिर्जनात्मक तथा सकारात्मक सोचाइका विषयमा पनि पठनपाठन गर्ने नगरपालिकाको योजना रहेको छ ।

नगरपालिकाले दिइएको विषयवस्तुमा केन्द्रित भई नेपाल करियर ट्रेनिङ फाउन्डेसनले पाठ्यक्रम निर्माणलाई अन्तिम चरणमा पुर्याएको हो । सानै उमेरदेखि बालबालिकालाई सबै विषयप्रति गम्भीर बनाउन स्थानीय पाठ्यक्रम बनाएर लागू गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।
यसैविच पछिल्लो पटक बसेको नगर शिक्षा समितिको बैठकले निर्माणाधिन स्थानिय पाठ्यक्रमको सम्वन्धमा स्थानीय पाठ्यक्रम निर्माण समितिमा रहेका सदस्यहरुले फागुन मसान्त सम्म अन्तिम रुप दिने गरी जिम्मा दिइएको छ ।।

प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार १९:४४