
मिना बुढाथाेकी
काठमाडाैँ – महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा शुक्रबार विशेष समारोह आयोजना गरेको छ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट सरकारी अधिकारीहरूको उपस्थिती रहेको थियो ।
सेनाले विंसं २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सो अवसरमा सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै ‘सेना दिवस–२०७६’ लेखिएको ब्यानर प्रदर्शन गरिने प्रचलन रही आएको छ ।
आज भएको समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत लहरे र एकट्ठा प्रस्तुत गरियो । त्यस्तै, सैनिक र नेपाली परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।
कार्यक्रमलाई रोमाञ्चक तुल्याउने क्रममा सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरियो । त्यसअन्तर्गत पिटी, तेक्वान्दो, खुकुरी ड्रिल प्रस्तुत भयो । सेनाको व्यावसायिक कार्य कुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो ।
सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । सो अवसरमा आगलागी नियन्त्रणमा सैन्य कौशलको नमूना अभ्यास प्रस्तुत भयो ।
प्रकाशित मिति: ९ फाल्गुन २०७६, शुक्रबार १६:५२