
इन्द्र बुढाथोकी
सल्यान, १९ साउन सल्यानको पश्चिमी क्षेत्र बनगाड कुपिण्डे नगरपालिकामा बदेलको बथानले मकैबाली सखाप पार्न थालेका छन् । नगरपालिकाका आधा दर्जन बढि वस्तीहरुमा बदेलको बथानले पाक्नै लागेको मकैबाली सखाप पारेका हुन् ।
बदेलले बनगाड कुपिण्डे नगरपालिका ९ का गिठाचौर, स्वारा, शेरा र शारदा नगरपालिकाका ओखरेनी, ¥याले, अधेरी लगायतका गाउँहरुमा बदेलेको समुहले मकैबाली तहस नहस पार्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।
नजिकैका जंगलहरुबाट आएको बदेलको बथानले पाक्नै लागेको मकैबाली नष्ट पारेपछि किसानहरु चिन्तित हुन थालेको पिडित कासीराम बोहराले जानकारी दिनुभयो । दिनभरी जंगलमा वस्ने र राती भएपछि बारीमा आएर मकै नष्ट पार्न थालेको बोहोराको भनाई छ ।“परिवारको बर्षभरी पेटपाल्ने मकै दुइदिनमा बदेलले तहस नहर पारिसके अव कसरी परिवारको गर्जो टार्ने चिन्ता लाग्न थालेको छ,” बोहोराले भन्नुभयो ।
नजिकैका जंगलहरुबाट रातको समयमा आएर मकैबारी नष्ट पार्ने बनगाड कुपिण्डे ९ का अनिलबस्नेतले जानकारी दिनुभयो । “हामीलाई बदेलले बर्षेनी दुख दिदै आएका छ सरोकारवाला निकायहरुमा जति कुरा राखेपनि सनुवाई हुदैन अव हामीले वसाई सर्नुबाहेकको विकल्प छैन,” वस्नेतले भन्नुभयो ।
किसानहरु मकै जोगाउन रातभरी बारीमा जाग्रम वस्दै आएको वस्नेतको भनाई छ “केहीदिन देखि हामी गाउँका सवै रातभरी वारीमै वस्छौ, थाल ठटाउने, होहल्ला गरेपनि बदेल वारीमा छिरेर मकै नष्ट गरेको थाहै हुदैन,” वस्नेतले भन्नुभयो । लकडाउनले बाहिर कमाउन पनि जान नसक्ने लगाएको बालीनाली समेत जंगली जनवारहरुले नष्ट पार्न थालेपछि परिवारको गर्जो कसरी टार्ने भन्नेमा चिन्ता हुन थालेको किसानहरुले बताउन थालेका छन् ।
बदलेलले दुख दिन थालेपछि किसाहरु रातभर बारीमै पहरा दिन थालेका छन् । रातभरी बारीमा जाग्रम वस्दा पनि वदेल बारीमा पसेर मकै नष्ट पार्न थालेको अर्का किसान रिम बहादुर बुढाथोकीले भन्नुभयो । “बदेलले यहाँ मकैबाली मात्रै हैन अव मकै सकिएपछि धानबाली र गहुबाली समेत नष्ट गर्ने गरेको छ जंगलका छेउका वस्तीहरुमा बदेलको वथान ठुलो छ दुख नदिएको कुनै बर्ष छैन,” बुढाथोकीले भन्नुभयो ।
“हामीले बदेल नियन्त्रण गरिदनका लागि सम्वन्धित निकायहरुमा सूचना दिएका छौ तर पनि सुनुवाई हुदैन, बदेलले दिएको दुखले वस्ती छोड्नुपर्ने अवस्था हुन थालेको छ । बनगाड कुपिण्डे ९ का ध्रुव नेपालीले भन्नुभयो“ गिठाचौर वस्तीमा बर्षेनी बदेलको बथानले बालीनाली नष्ट नपारेको कुनै बर्ष नै छैन, किसानहरुले बालीनालीको विउसम्म जोगाउन सक्ने अवस्था छैन ।” बदेलले बर्षेन दुख दिइरहेको कुरा सम्वन्धित निकायलाई थाहा भएपनि कुनै चासो नदिएको स्थानीयहरुको भनाई छ ।
जिल्लाको पश्चिमी क्षेत्रमा वस्ती नजिक घना जंगल भएकोले पनि बर्षेनी स्थानीयहरु जंगली जनवारहरुबाट प्रभावित भइरहेका छन् । बदेलले हरेक बर्ष यस क्षेत्रका करिव ४ सय घरधुरीले लगाउनदै आएको अन्नबाली नष्ट पार्दै आएका छन् । पछिल्लो समय जिल्लामा चोरी शिकारी समेत रोकिएकोले जंगलमा बदेलको संख्यामा बृद्धि भएकोले पनि बर्षेनी बालीनालीको क्षतिमा पनि बृद्धि हुदै गएको पिडित किसानहरुको भनाई छ ।
प्रकाशित मिति: १९ श्रावण २०७७, सोमबार १५:०१