कभर खबर

  • २९ श्रावण २०७७, बिहीबार १५:०१

वीरेन्द्रनगर नगरपालिका भदौ ५ गतेसम्म बन्द हुने

सुर्खेत ।

कोरोना संक्रमणको जोखिम बढेपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एक हप्ता सेवा बन्द गर्ने भएको छ । साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालय बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभएकाे छ ।

संक्रमितको संख्या बढ्दै गएकाले नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले बुधबार यस्तो निर्णय गरिएको उहाँको भनाइ छ । यो अवधिमा स्वास्थ्य, सरसफाइ, फोहोरमैला तथा विपद् व्यवस्थापनबाहेकका कुनै पनि सेवा प्रवाह हुने छैनन् । नगरपालिकामा १६ वटा वडा रहेका छन् ।

पछिल्लो समय वीरेन्द्रनगरमा बाहिर घुमफिर नगरेका धेरै जनामा कोरोना संक्रमण भएको पाइएको छ । वीरेन्द्रनगरमा बुधवार बिहान थप १९ जनामा संक्रमण देखियो । ती १९ मध्ये ५ जना संक्रमित भने कुनै पनि ‘ट्राभल हिस्ट्री’ नभएका समुदायस्तरका हुन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले वीरेन्द्रनगरमा ४ जना सरकारी कार्यालयका सवारी चालक, २ जना सैलुनका कामदार र संक्रमितको सम्पर्कमा आएका ६ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै ५ जनाको भने संक्रमणको स्रोत खुलेको छैन ।

पछिल्लो संक्रमणको अवस्थाले वीरेन्द्रनगर संक्रमणको उच्च जोखिमा रहेको देखिने वाग्लेले बताउनुभयाे । ‘पछिल्लो अवस्था हेर्दा समुदायमा कोरोना संक्रमणको जोखिम बढी छ भन्ने संकेत दिएको छ’ उनले भने, ‘जिल्लाका अन्य पालिकाभन्दा वीरेन्द्रनगर उच्च जोखिममा छ ।’

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहीबार १५:०१