चौरजहारी - रुकुम पश्चिमको चौरजहारीमा ३ दिने व्यवसाय योजना तथा उद्यम विकास तालिम सम्पन्न भएको छ। मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसीएस) द्वारा सञ्चालित राइज–अप परियोजना अन्तर्गत चौरजहारी नगरपालिकामा उक्त तालिम आयोजना गरिएको हो।
जेठ २६ गतेदेखि सुरु भएको उक्त तालिम आज जेठ २८ गते होटल मिड भ्याली, चौरजहारीमा सम्पन्न भएको हो। तालिममा अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका परिवारका सदस्य गरी २२ जनाको सहभागिता रहेको थियो।
अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका परिवारको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमबारे परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिनुभयो। उहाँका अनुसार राइज–अप परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार, रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यका साथ सीप विकास, आयमूलक तालिम तथा सामाजिक समावेशीकरणमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
तालिममा व्यवसायको आधारभूत अवधारणा, स्थानीय स्रोतको पहिचान, लागत–मूल्य–नाफा विश्लेषण तथा व्यवसायको आधारभूत मोडेलका विषयमा सहजीकरण गरिएको थियो। साथै व्यवसायका सबल पक्ष, दुर्बल पक्ष, अवसर र चुनौती (SWOT Analysis) सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो। त्यसैगरी लक्षित ग्राहक पहिचान, प्रतिस्पर्धी विश्लेषण, व्यवसाय छनोट प्रक्रिया तथा व्यवसाय योजना लेखन सम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको थियो।
उक्त तालिमको सहजीकरण कम नेपालका कन्सल्टेन्ट सञ्जय घले तथा मानव विकास तथा सामुदायिक सेवाका प्राविधिक संयोजक तारा हाङ तावाले गर्नुभएको थियो।
तालिममा सहभागीहरूले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारी साना तथा घरेलु उद्यम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस्ता तालिमले स्थानीय स्तरमा स्वरोजगार तथा उद्यमशीलताको प्रवर्द्धन गरी आर्थिक आत्मनिर्भरता हासिल गर्न महत्त्वपूर्ण योगदान पुग्ने आयोजकको अपेक्षा रहेको छ।
२७ जेठ २०८३, बिहिबार ०६:०९ मा प्रकाशित