रुकुम पुर्बमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

coverkhabar.com

रुकुमकोट -पुथा  पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटकी एक सुत्केरी महिलाको जटिल अवस्था भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज शुक्रबार सुत्केरी महिलाको उद्धार गरिएको हो । 


मैकोट निवासी हिमाल कामीकी श्रीमती ३२ वर्षीया मन्दया कामीले मैकोट स्वास्थ्य चौकीमा प्रसूति गराउने क्रममा मृत बच्चा जन्माउनु भएको थियो । त्यसक्रममा सालनाल अड्किएपछि उहाँको अवस्था जटिल बनेको थियो । 


तत्काल थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिफारिस गरेको थियो । 


त्यसपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निःशुल्क रूपमा नेपाली सेनाको हेलिकप्टरबाट मन्दयालाई कर्णाली प्रदेश अस्पताल, वीरेन्द्रनगर सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया