बाँफिकोट -बिरेन्द्र माध्यमिक विद्यालय, बाफिकोट–४, रुकुम पश्चिम मा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया गम्भीर विवादमा परेको छ। चैत्र २९ गते सम्पन्न बैठकमा सहमति र कानुनी प्रक्रिया विपरीत एकलौटी रूपमा सदस्य चयन गरिएको आरोप लागेको छ।
स्रोतका अनुसार बैठकमा सरोकारवाला पक्षको पूर्ण सहभागिता र सहमति नलिई मनोमानी ढंगले समिति गठन गरिएको हो। यसप्रति असन्तुष्टि जनाउँदै तीन राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले औपचारिक रूपमा नोट अफ डिसेन्ट समेत दर्ता गरेका छन्।
उनीहरूले उक्त प्रक्रिया गैरकानुनी, अपारदर्शी र पक्षपातपूर्ण भएको ठहर गर्दै अब यस विषयलाई कानुनी बाटोबाट अघि बढाउने स्पष्ट चेतावनी दिएका छन्।
यसैबीच, बैठकको निर्णय विवरण (मिनेट) को फोटो खिच्न खोज्दा विद्यालयका प्रधानाध्यापकले अवरोध गरेको घटनाले झन् विवाद चुलिएको छ। पारदर्शिता सुनिश्चित गर्नुपर्ने ठाउँमा तथ्य लुकाउने प्रयास भएको भन्दै सहभागीहरूले गम्भीर आपत्ति जनाएका छन्।
सरोकारवालाहरूले यस्ता गतिविधिले विद्यालयको शैक्षिक वातावरण बिगार्ने मात्र नभई संस्थागत विश्वसनीयतामा समेत गम्भीर असर पर्ने बताएका छन्। सम्बन्धित निकायसँग निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरिएको छ।