बाँफिकोट - रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा निर्माण सम्पन्न भएका तरकारी संकलन केन्द्र र बहुउद्देश्यीय कवर्ड हल औपचारिक रूपमा नगरपालिकालाई हस्तान्तरण गरिएको छ।
चौरजहारी नगरपालिका–२ स्थित बसपार्कमा निर्माण गरिएको तरकारी संकलन केन्द्र तथा सोही वडाको शीतल माध्यमिक विद्यालय नजिक रहेको बहुउद्देश्यीय कवर्ड हल एक कार्यक्रमका बीच नयाँ सहर आयोजना कार्यालयले नगरपालिकालाई हस्तान्तरण गरेको हो।
नयाँ सहर आयोजना प्रमुख इन्जिनियर गौरी पण्डितले चौरजहारी नगरपालिकाकी कार्यवाहक प्रमुख ईश्वरी कुमारी शर्मालाई ताला–चाबी सहित हस्तान्तरण गर्नुभएको हो।
नयाँ सहर आयोजना प्रमुख पण्डितका अनुसार बहुउद्देश्यीय कवर्ड हल १ करोड ८५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो भने तरकारी संकलन केन्द्र २ करोड ८२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।
३१ असार २०८३, बिहिबार ०३:५२ मा प्रकाशित