शान्ति सुरक्षा, सेवा प्रवाह, विपद् व्यवस्थापन, भूकम्प पुनर्निर्माण, विकास सहजीकरण तथा सुशासनका क्षेत्रमा जिल्ला प्रशासन रुकुम पश्चिमको उल्लेखनीय काम

coverkhabar.com

मुसिकोट - जिल्ला  प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) ले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति सार्वजनिक गर्दै शान्ति सुरक्षा, सेवा प्रवाह, विपद् व्यवस्थापन, भूकम्प पुनर्निर्माण, विकास सहजीकरण तथा सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । 


कार्यालयका अनुसार नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र वितरणमा प्रभावकारी सेवा प्रवाह भएको छ। साथै लागुऔषध नियन्त्रण, बजार अनुगमन, विपद् पूर्वतयारी, राहत वितरण र डिजिटल सेवामा पनि उल्लेखनीय सुधार भएको दाबी गरिएको छ। आगामी वर्षका लागि नागरिकमैत्री सेवा, डिजिटल प्रशासन, सुशासन प्रवर्द्धन तथा विकास आयोजनालाई अझ प्रभावकारी बनाउने प्राथमिकता तय गरिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले बताए  ।



रुकुम पश्चिममा आर्थिक वर्ष २०८१/८२ को तुलनामा भन्दा गत आर्थिक वर्ष ८२/८३ मा नयाँ नागरिकता र प्रतिलिपि लिनेको संख्या कम देखिएको छ प्रजिअ गौतमको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक प्रगति कार्य सम्पादनमा नयाँ नागरिकता र प्रतिलिपि लिनेको संख्या कम देखिएको हो ।


 



आर्थिक वर्ष ८१/८२ मा नयाँ नागरिकता लिनेको सङ्ख्या पाँच हजार ६ सय ४८ रहेको छ । तर गत आर्थिक वर्षमा भने ४ हजार ९ सय ६१ जनाले नयाँ नागरिकता लिएका छन् ।


 


त्यस्तै आर्थिक वर्ष ८१/८२ मा ४ हजार ३ सय ६८ जनाले नागरिकताको प्रतिलिपि लिएकोमा गत आर्थिक वर्षमा भने ४ हजार २ सय २१ जनाले प्रतिलिपि लिएको जिल्ला प्रशासन कार्यलय रुकुम पश्चिमले उल्लेख गरेको छ । ।


 

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क विवरणमा एक वर्षको अवधिमा नागरिकता र प्रतिलिपि लिनेको संख्या घट्दा नागरिकता त्याग गर्नेको सङ्ख्या भने बढेको छ । आर्थिक वर्ष ८१/८२ मा एकजनाले नेपाली नागरिकता त्याग गर्दा गत आर्थिक वर्षमा भने चार जनाले नागरिकता त्याग गरेका छन् ।

 

त्यस्तै आर्थिक वर्ष ८१/८२ मा २ हजार ८ सय ९० जनाले राहदानी लिएकोमा गत आर्थिक वर्षमा २ हजार ८ सय १९ जनाले राहदानी लिएको प्रशासनले बताएको छ । यो तथ्याङ्कको आधारमा पनि अघिल्लो वर्षको तुलनामा भन्दा गत वर्षमा राहदानी लिनेको संख्या केही मात्रामा घटेको देखिन्छ ।

 

यसैगरी जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षमा १४ हजार ३७ राष्ट्रिय परिचयपत्र दर्ता भएका छन् । जसमध्ये ६ हजार ५ सय ३४ वटा वितरण गरिएको बताइएको छ ।

प्रतिक्रिया