मुसिकोट - चौरजहारी नगरपालिकामा अपाङ्गता भएका व्यक्ति तथा तिनका परिवारको आयआर्जन सुदृढीकरण गर्ने उद्देश्यले ३ दिने जीविकोपार्जन तालिम सुरु भएको छ। रुकुम पश्चिम स्थित नगरपालिकाभित्रका अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई लक्षित गर्दै उक्त तालिम सञ्चालन गरिएको हो।
मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत सञ्चालित राईज–अप परियोजनाको आयोजनामा सुरु गरिएको तालिममा चौरजहारी नगरपालिकाका विभिन्न वडाबाट ८ जनाको सहभागिता रहेको छ। तालिमको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको परिवारको आर्थिक सशक्तीकरण गर्दै आत्मनिर्भर बनाउने रहेको छ ।
परियोजना अधिकृत सन्देश जैसीका अनुसार तालिममार्फत सहभागीलाई सिपमूलक ज्ञान, व्यावहारिक कृषि प्रविधि, साना उद्यम सञ्चालन विधि व्यवस्थापन सम्बन्धी आधारभूत जानकारी प्रदान गरिनेछ। “अपाङ्गता भएका व्यक्ति समाजको महत्वपूर्ण अंग हुन्। उनीहरूलाई सीप र अवसर प्रदान गर्न सके आत्मनिर्भर बन्न सक्छन् भन्ने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको परियोजना अधिकृत जैसीले जानकारी दिए।
तालिमको सहजीकरण एच.डि.सि.एस मा कार्यरत कृषि अधिकृत मनोज के.सी., कोटझारी अर्गानिक फार्मका संयोजक सबिन पुरी, बित्त अधिकृत विष्णु पुन र सि.सि.ए टेर्नर नरबहादुर खड्काले गरिरहनुभएको छ। सहजीकरण टोलीले सहभागीलाई स्थानीय स्रोतसाधनको उपयोग गरी आयआर्जनका सम्भावनाहरू पहिचान गर्ने, व्यावसायिक योजना तयार गर्ने तथा व्यवहारमा उतार्ने तरिकाबारे प्रशिक्षण दिइरहेको जनाएको छ।
तालिम अवधिभर सहभागीलाई व्यावहारिक अभ्यास, समूह छलफल र अनुभव आदान–प्रदानको माध्यमबाट सिकाइलाई प्रभावकारी बनाइनेछ। कार्यक्रमले विशेषगरी अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक अवस्था सुधार गर्दै उनीहरूको आत्मविश्वास वृद्धि गर्ने तथा दीर्घकालीन रूपमा जीविकोपार्जनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीय सरकार संग सहकार्य गर्दै सञ्चालन गरिएको यस कार्यक्रमले समुदायमा समावेशी विकासको अवधारणालाई थप मजबुत बनाउने विश्वास लिइएको छ। आयोजकका अनुसार आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारलाई लक्षित गरी यस्ता सीपमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने योजना रहेको छ।